काठमाडौं । थाईल्याण्डमा जारी टी ट्वान्टी स्म्यास क्रिकेटको उपाधि जित्न घरेलु टोलीले १ सय २२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ओभरमा एक विकेट गुमाएर १ सय २१ रन बनाएको थियो ।
घरेलु टोलीका लागि नाथचन चनथमले सर्वाधिक ६९ रन बनाईन । उनले नटआउट रहँदै सो स्कोर बनाएकी हुन् । यस्तै, नरुमोल चवाईले २७ रनको योगदान गरिन् । चानिदा सुथिरंगले नटआउट १९ रन बनाईन् ।
नेपालका सबै बलर विकेट विहिन रहे । कुनै खेलाडीले अन्तिम खेलमा विकेट लिन सकेनन् । समुह चरणमा अपराजित रहँदै नेपालले फाईनलमा थाईल्याण्डसग प्रतिस्पर्धा गरिरहेको छ ।
लामो समय उपाधि बिहिन रहदै आएको महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ । तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने रहेको छ ।
समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
यता, थाइल्याण्ड पनि अपराजित रहदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।