काठमाडौं । इन्डोनेसियामा हुने १८ औ एशियन गेम्सकालागि २० सदस्यीय राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । अगष्ट १४ देखी १ तारिख सम्म इन्डोनेसियामा हुने प्रतियोगिताकालागि राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरिएको हो ।
प्रतियोगिताकालागि ५२ जना खेलाडीलाई छनोट गरेर जेठ २४ गतेबाट प्रशिक्षण गराईएको थियो । अखिल नेपाल फुटबल संघ एन्फाले दोस्रो चरणमा ४५ जना छनोट गरेर बन्द प्रशिक्षणमार्फत अन्तिम २० खेलाडीको छनोट गरिएको बताएको छ ।
छनोटमा परेका खेलाडीमा गोलकिपरमा किरणकुमार लिम्बु, ऐलेन न्यौपाने र सोजित गुरुङ रहेका छन् । त्यस्तै डिफेन्समा गौरव बुढाथोकी, छिरिङ गुरुङ, अनन्त तामाङ, आदित्य तामाङ, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी रहेका छन् ।
मिडफिल्डमा रोहित चन्द, हेमन्त गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, तेज तामाङ, अभिषेक रिजाल परेका छन् । त्यस्तै फरवार्डमा सुनिल वल, भरत खवास, सुमन लामा र विमल घर्तिमगर रहेका छन् ।
टोलीको मुख्य प्रशिक्षकमा ग्याथुकी कोजु र प्रशिक्षकमा बालगोपाल महर्जन रहेको एन्फा प्रवक्ता किरण राईद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ । प्रशिक्षक महर्जनले टोलीको कप्तानको नामको बिषयमा कुनै निर्णय नभएको बताउदै सिनियर खेलाडीबाट एक जनाले टोलीको नेतृत्व गर्ने खेलपाटीलाई बताए ।
स्रोतका अनुसार गोलकिपर किरण चेम्जोङले नेपाली टोलीको नेतृत्व गर्न सक्नेछन् ।