काठमाडौं। एन्फा महिला लिगअन्तर्गत शनिबार भएको विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लब हारबाट जोगिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा आर्मीले शीर्ष स्थानको पुलिससँग १-१ गोलको बराबरी खेलेको हो।
योसँगै शीर्ष स्थानमा रहेको पुलिसले पाँच खेलबाट ११ अंक जोडेको छ। पुलिसलाई १० अंक जोडेको आर्मी र एपिएफले पछ्याइरहेका छन्। एपिएफले भने एक खेल कम खेलेको छ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, ४८औं मिनेटमा अमृता जैशीको गोलमार्फत पुलिसले सुरुआती अग्रता लियो। उनले करिब ३० यार्डबाट प्रहार गरेको फ्रिकक बलले सीधै जाली चुम्यो। तर, उक्त अग्रता पुलिसले कायम राख्न सकेन।
६३औं मिनेटमा अमिषा कार्कीले गोल गर्दै खेल बराबरी ल्याइन्। यसमा भने पुलिसकी गोलकिपर उषा नाथको गल्ती रह्यो। बल क्लियर गर्न पेनाल्टी बक्स बाहिरनजिक पुगेको अवस्थामा अमिषाले बिट गर्दै खाली पोस्टमा गोल गरिन्।