काठमाडौं। ललितनारायण राजवंशी एक्लैले चार विकेट लिएसँगै नेपालले हाइ पर्फमेन्स म्याचमा जग्वार्सलाई पराजित गरेको छ। शनिबार बिहान भएको खेलमा नेपाल ६६ रनले विजयी भएको हो।
नेपालले दिएको २४७ रनको लक्ष्य पछ्याएको जग्वार्स ३९ ओभरमा सबै विकेट गुमाउँदै १८१ रन मात्रै बनाउन सक्यो।
जग्वार्सका ओपनर अजयवीर सिंहले सर्वाधिक ५५ रन बनए। ७५ बल खेलेका उनले सात चौका र एक छक्का प्रहार गरे। नदीम मन्जराले २९, समित गोहलले २०, अनुप चिमाले १९, अली नदीमले १६ र कमिलीन शिहानले १० रन बनाउँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।
नेपालका ललितनारायण राजवंशीले सर्वाधिक चार विकेट लिए। सन्दीप लामिछानले तीन विकेट लिँदा करण केसी र कुशल मल्लको नाममा समान एक विकेट रह्यो।
त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ४७.५ ओभरमा सबै विकेट गुमाउँदै २४७ रन बनाएको थियो। नेपालका अनिलकुमार साहले अविजित रहँदै सर्वाधिक ४७ रन बनाए। ३६ बल खेलेका उनले चार चौका र दुई छक्का प्रहार गरे।
ओपनर कुशल भुर्तेलले ४१, कप्तान रोहितकुमार पौडेलले ३३, भीम सार्कीले २१, आसिफ शेखले १९, गुलसनकुमार झाले १९ र दीपेन्द्रसिंह ऐरीले ११ रन बनाए।
जग्वार्सका जसकरण बुट्टर, इरफान सदात, शील पटेलले समान दुई विकेट लिए। जाहिद शिरजाद, खुसजिन्दर सिंह र शिवम शर्माको नाममा समान एक विकेट लिए।