काठमाडौं। अफगानिस्तान र न्युजिल्यान्डबीचको एकमात्र टेस्ट शुक्रबार लगातारको वर्षाका कारण रद्द भएको छ। र, टेस्ट क्रिकेटको इतिहासमा आठौं पटक एक बल पनि नफ्याँकी टेस्ट रद्द भएको हो। पछिल्लो पटक २६ वर्षअघि सन् १९९८ मा यस्तो घटना भएको थियो ।
त्यतिबेला पनि डुनेडिनमा न्युजिल्यान्डको टिमले भारतसँग खेल्नुपर्ने थियो । पाकिस्तान र जिम्बाब्वेबीच सोही दिन फैसलाबादमा भएको टेस्ट पनि बाक्लो हुस्सुका कारण रद्द भएको थियो ।
भारतमा पहिलो पटक एक बल पनि बलिङ नगरी टेस्ट रद्द गरिएको छ। भिजेको मैदानका कारण सुरुका दुई दिन खेल हुन नसकेपछि शहीद विजयसिंह पथिक स्पोर्ट्स कम्प्लेक्सको खेल आयोजना गर्ने क्षमतामा प्रश्न उठेको थियो । बाँकी तीन दिन वर्षाका कारण खेल रद्द भएको थियो । शुक्रबार बिहान पिचको निरीक्षण गरिएको थियो। तर, कभर नगरिएका स्थानमा अझै पनि आउटफिल्डमा पानी छ। जसका कारण खेल रद्द भएको थियो।