काठमाडौं। बागमती युथ क्लबलाई पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा आर्मीले बागमती युथ क्लबलाई ३-० ले पराजित गरेको हो।
जितसँगै आर्मीले शीर्ष स्थानमा रहेको अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँगको अंक दुरी १ मा झारेको छ। आर्मीका लागि विमला चौधरी र अमिषा कार्कीले गोल गरिन्। २५औं मिनेटमा विमला चौधरीले गोल गर्दै आर्मीको खाता खोलेकी थिइन्। उनले हेमा चौधरीले उपलब्ध गराइदिएको बललाई जाली चुमाएका हुन्।
६१औं मिनेट अमिषाले अग्रता दोब्बर बनाइन्। मैदान छिर्नेबित्तिकै फस्ट टचमै बल लुज नगरी उनले गोल गरेकी हुन्। ९०औं मिनेटमा दीपा शाहीले प्रहार गरेको बल बागमतीकी सन्जी थिङलाई डिफ्लेक्ट हुँदै गोलमा परिणात भएको थियो।