काठमाडौं। नेदरल्यान्ड्सका स्ट्राइकर मेम्फिस डेपे ब्राजिल पुगेका छन्। ब्राजिलियन फुटबल क्लब कोरिन्थियन्ससँग दुई वर्षको सम्झौता गरेका उनी बिहीबार बिहानै साओ पाउलोको ग्वारुल्होस अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्।
स्पेनिस टोली एट्लेटिको मड्रिडबाट फ्रि ट्रान्सफरमा ३० वर्षीय डेपेलाई कोरिन्थियन्सले भित्र्याएको हो। टोलीले ब्राजिलियन कप क्वार्टरफाइनलको दोस्रो लेगमा खेल्नुअघि नियो क्विमिका एरिनामा समर्थकसँग उनलाई सार्वजनिक गराउने अपेक्षा गरिएको छ। तीन करोड ५० लाखभन्दा बढी समर्थक रहेको साओ पाउलोस्थित टोलीले पहिलो लेग २–१ ले गुमाएको थियो।
डेपेले शुक्रबार बिहान सोही रंगशालामा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। पूर्वपीएसभी आइन्डहोभेन स्टारले युरो कप २०२४ मा नेदरल्यान्ड्सको प्रतिनिधित्व गरेका थिए।
एट्लेटिको मड्रिड जाउनुअघि उनले म्यानचेस्टर युनाइटेड, लियोन र बार्सिलोनामा खेलेका थिए। कोरिन्थियन्स ब्राजिलियन लिगमा रेलिगेसनबाट बच्न संघर्ष गरिरहेको छ। यद्यपि, १३ राउन्ड बाँकी छ।