काठमाडौं। डिफेन्डिङ च्याम्पियन भएपनि एपिएफले जारी एन्फा महिला लिगमा शीर्ष स्थान भेटाउन सकेको छैन। पहिलो खेलमै पुलिसँग गोलरहित बराबरी खेल्नुले पनि एपिएफ त्यो स्थानमा पुग्न चुकेको हो।
तर, बिहीबार वालिङ नगरपालिकासँग चौथो खेल्दा भने एपिएफलाई त्यही स्थानमा फर्किने अवसर छ। यी दुईबीचको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह्र ४:१५ बजे हुनेछ।
तीन खेलमा सात अंक हात पार्न एपिएफले आर्मीलाई २-१ र चन्द्रपुर नगरपालिकालाई ६-० ले हराएको हो। त्यही लयलाई कायम राख्दै बिहीबार जित निकाले एपिएफले अंक तालिकामा दुई स्थान फड्को मार्नेछ।
‘यसअघिका दुई विभागीय टोली बलिया नै थिए। जसले चान्स पाए र सदुपयोग गरे त्यसले जित्ने अवस्था थियो। तर, चन्द्रपुरको खेलमा भने हामी बलियो देखियौं र अघिल्ला खेलको गल्तीलाई पनि सुधार्यौं। वालिङलाई पनि कमजोर लिएका छैनौं,’ एपिएफका प्रशिक्षक जीवेश पाण्डे भन्छन्।
एपिएफले मुख्य स्ट्राइकर सावित्रा भण्डारीलाई यो सिजनभर गुमाएको छ। गोलकिपर अञ्जिला तुम्बापो सुब्बा पनि विदेशी लिगमा अनुबन्ध भइसकेकी छन्। प्रीति राईलगायत केही खेलाडी पनि विदेशी लिग खेल्न जाने तरखरमा छन्। त्यसैले जीवेशले बेन्चमा रहेका र यसअघि खेल्ने मौका नपाएका नयाँ खेलाडीलाई मैदान उतार्न थालेका छन्। उनको लक्ष्य विस्तारै नयाँ खेलाडीलाई पनि सेट गराउनु छ।
अर्कोतर्फ वालिङ विदेशी खेलाडीको प्रभुत्वमा उताउने प्रयास गरिरहेको छ। तीन विदेशी खेलाडी भित्र्याएको वालिङले दुई खेल जत्दा एक गुमाएको छ। आफ्नै खेलाडी लिएर मैदान उत्रिँदा कोशी प्रदेशसँग ४-० को हार बेहोरेको वालिङको उत्थान कसैले गरेको छ भने ती हुन्, ज्याकिलिन नस्साली।
आएकै दिनमा कर्णालीविरुद्ध मैदान उत्रिएकी ज्याकिलिनले ह्याट्रिक गर्दै वालिङलाई पहिलो अंक दिलाएकी थिइन्। संकटा फुटबल क्लबसँगको खेलमा पनि उनी नै छाइन्। तर, गोल भने गर्न सकिनन्। उनी नचलेको खेलमा सिसे एन्टोङ्गो चम्किएकी थिइन्। झन्डै ३० यार्डबाट उनले गरेको प्रहार माथिल्लो बारमा लाग्दै गोलमा परिणत हुँदा संकटासँग वालिङले १-० को जित हात पारेको थियो।
वालिङ यही लयलाई समात्ने प्रयासमा रहने छ। तर, वालिङलाई फिटनेसले सताएको छ। सुक्रिया मियाको फिटनेसमा समस्या परेपछि वालिङका मुख्य प्रशिक्षक दिलिप थापाले विंगर सुस्मा थापालाई मैदान उतारेका थिए। तर, उनी प्रभावकारी देखिन सकेनन्।
३०औं मिनेटमै उनले पनि आफू फिट नरहेको संकेत गरिसकेकी थिइन्। तर, अन्य विकल्प नहुँदा थापाले उनलाई ७८औं मिनेटसम्म मैदानमा टिकाइराखेका थिए। त्यसपछिका १२ मिनेट खेल्न सुक्रिया मैदान प्रवेश गरेकी थिइन्। त्यसैले एपिएफसँगको खेल पनि सहज नरहने थापाको भनाइ छ। ‘विस्तारै सेटअप मिलाउँदै छौं। तर, खेलाडीहरू विरामी परिरहेका छन्। यसले समस्या गर्छजस्तो लाग्छ,’ उनले भने।