काठमाडौं। छनोट नै नखेली अखिल नेपाल फुटबल संघ (एन्फा)ले जसरी बागमती युथ क्लबलाई महिला लिगमा प्रवेश दिएको थियो, त्यसरी आफ्नो यात्रा सहज बनाउन सकेको छैन। त्यो पछिल्लो तीन खेलले पनि प्रस्ट पार्छ।
पहिलो खेलमै खेलमा खेलाडी विवादका कारण कमजोर टोली उतारेको सुदूरपश्चिम प्रदेशविरुद्ध ५-१ को जित निकाले पनि बागमती त्यसपछिका दुई खेलमा सफल हुन सकेको छैन।
पहिलोपल्ट प्रतिस्पर्धात्मक फुटबल खेल्न काठमाडौं उत्रिएको बागमतीसँग टिम भए पनि जित्ने चाहना बिल्कुलै छैन। छ त बराबरी खेल्दै एक अंक बढ्ने। तर, त्यो पनि सफल हुन नसकेको बताउँछन्, सहायक प्रशिक्षक सोनाम लामा।
‘कोशीसँग पनि बराबरी खेल्दै अंक बाँड्ने योजना थियो। ३०औं मिनेटसम्म ठिकै खेलेका थियौं। तर, दोस्रो हाफको ९/१० मिनेटपछि गोल खान पुग्यौं। त्यसैले तीन अंक सुम्पियौं,’ उनी भन्छन्।
दोस्रो खेलमा आफ्नै खेलाडी दिव्या यस्माली मगरले आत्मघाती गोल गरेपछि कोशीसँग बागमती २-१ ले पराजित हुन पुगेको थियो। तर, अर्को खेलमा पनि बागमतीको लक्ष्य ठ्याक्कै यही थियो। विभागीय टोली नेपाल पुलिससँग भएको भेटमा बागमतीले ६४औं मिनेटसम्म खेललाई कन्ट्रोलमा राख्यो। तर, फिटनेसको समस्या देखिएको टोलीले त्यसको अर्को मिनेटमै गोल बेहोर्न पुगेको थियो।
लगालग अंक खोस्ने योजना भए पनि हार बेहोरेको यही बागमती बिहीबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अर्को विभागीय टोली त्रिभुवन आर्मीसँग हुने भेटमा पनि बराबरीको खेल्न मैदान उत्रिने छ। यो खेल दिउँसो १२:३० बजे हुनेछ। प्रशिक्षक लामा भन्छन्, ‘कोशी र पुलिससँग अंक बाँड्ने योजना थियो। तर, सफल हुन सकेनौं। आर्मी हामीभन्दा बलियो टोली हो। त्यसैले अंक नगुमाउने लक्ष्यसहित मैदान उत्रिन्छौं।’
तीन खेलबाट तीन अंक जोडेको बागमती सातौं स्थानमा छ। समान खेल खेलेको आर्मी भने ६ अंक सहित चौथो स्थानमा छ। गत संस्करणमा तेस्रो भएको आर्मीले पहिलो खेलमै संकटा फुटबल क्लबलाई ४-० गोल बर्साएको थियो। तर, लिगमा सानदार सुरुआत गरे पनि आर्मीले त्यो लयलाई निरन्तरता दिन सकेको छैन।
दोस्रो खेलमा एपिएफसँग २-१ को नतिजा सुम्पिएको आर्मीले तेस्रो खेलमा पुगेर मात्रै थप तीन अंक जोडेको हो। त्यो पनि कमजोर टोली सुदूरपश्चिमविरुद्ध। अंकतालिकाको पुछारमा रहेको यो टोलीविरुद्ध सबैले गोलको वर्षा नै गरेको छ। आर्मी पनि यसमा अछुतो रहेन। उसले तेस्रो चरणको अन्तिम खेलमा १४-० को जित हासिल गरेको थियो।
त्यसैले आर्मी यही लयलाई निरन्तरता दिने प्रयासमा हुनेछ। बागमतीविरुद्ध जित निकाल्न सके आर्मी कोशीलाई धकेल्दै दोस्रो स्थानमा पुग्नेछ। त्यो भनेको शीर्ष स्थानमा रहेको पुलिससँग अंक दूरी एकमा झार्नु हो।
‘विभागीय डर्बी पनि भएको कारण हामीले एक खेल गुमाएका थियौं। त्यो नि नगुमाउने लक्ष्यसहित आएका थियौं। तर, टोली पनि सेट हुने अवस्था थियो। अहिले सेट हुँदै गइरहेको छ। शीर्ष पाँचमा पर्ने लक्ष्य भएको कारण हामी अब जितकै लागि खेल्छौं,’ आर्मीका सहायक प्रशिक्षक टेकबहादुर बूढाथोकीले भने।