काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले सम्हालेको श्रीलंकाले प्ले–अफमा सफलता हासिल गरेसँगै दक्षिण एसियाली सातै देशले एसियन कप २०२७ छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्ने भएका छन्।
श्रीलंकाले नोम पेनमा मंगलबार कम्बोडियाको चुनौती पेनाल्टी सुटआउटमा ४–२ ले समाप्त पार्दै छनोटको तेस्रो चरणमा स्थान बनाएको हो। नेपालसहित भारत, बंगलादेश र पाकिस्तानले विश्वकप/एसियन कप छनोटका दोस्रो चरणमा प्रतिस्पर्धा गरेको आधारमा (समूहका अन्तिम दुई स्थानमा रहेको) छनोटको तेस्रो चरणमा प्रवेश पाएको हो। माल्दिभ्स र भुटान छनोटको पहिलो चरणमै रोकिए। यी दुईले पहिलो चरणमा पराजित हुने टोलीमध्ये शीर्ष तीन वरीयतामा रहेको आधारमा एसियन कप छनोटको तेस्रो चरणमा सीधै अवसर पाएका हुन्।
श्रीलंकासँगै इस्ट टिमोरले मंगोलिया र ब्रुनाईले मकाउलाई प्लेअफमा पराजित गर्दै तेस्रो चरणको ढोका खोले। यससँगै महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिताको अन्तिम छनोट खेल्ने २४ टोलीको टुंगो लागेको छ। जसमा दक्षिण एसियाबाहिरका अफगानिस्तान, चाइनिज ताइपेइ, हङकङ, लेबनान, मलेसिया, म्यान्मार, फिलिपिन्स, सिंगापुर, सिरिया, ताजिकिस्तान, थाइल्यान्ड, तुर्कमेनिस्तान, भियतनाम, यमन, लाओस, इस्ट टिमोर र ब्रुनाई छन्।
तेस्रो चरणमा सहभागि टिमले ४–४ देशको ६ समूहमा रहेर प्रतिस्पर्धा गर्नेछन्। समूह विजेता टिमले मात्रै एसियन कप २०२३ खेल्ने अवसर पाउनेछन्। साउदी अरेबियामा सन् २०२७ जनवरी–फेब्रुअरीमा हुने एसियन कपमा २४ देशले प्रतिस्पर्धा गर्नेछन्, जसको लागि विश्वकप २०२६ एसियन छनोटको तेस्रो चरणमा प्रवेश गरेका १८ टोलीको यात्रा पक्का भइसकेको छ।
एसियन कप २०२७ छनोटको तेस्रो चरणको प्रतिस्पर्धा होम एन्ड अवेको आधारमा मार्च २०२५ देखि मार्च २०२६ सम्म हुनेछ। छनोटमा प्रत्येक टोलीले ६–६ खेल खेल्नेछन्।