काठमाडौं। एन्फा महिला लिगमा सुदूरपश्चिम प्रदेशलाई एक छिन बिर्सेर अंकतालिकामा हेर्ने हो भने खराब लयलाई निरन्तरता दिइरहेको दुई टोली देखिन्छन्, कर्णाली प्रदेश र संकटा फुटबल क्लब।
तीन खेलको समाप्तिमा यी दुई टोलीबीच खासै भिन्नता देखिँदैन। समान एक अंक जोडेका यी टोलीबीच देखिने भिन्नता भनेको त्यही अंकतालिकाको स्थानमा मात्रै हो। संकटा आठौंमा छ भने कर्णाली नवौंमा।
यी दुवै टोली आफूलाई उत्कृष्ट देखाउन बुधबार एकअर्कासँग भिड्दै छन्। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपराह्न ४:१५ बजे हुने खेलमा यी दुवै टोली पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछन्।
लगातार खराब लय समातेपछि कर्णालीका मुख्य प्रशिक्षक गणेश खड्का खेलाडीलाई फुटबल एडप्ट गर्न गाह्रो भएको भन्दै आफू पन्छिन खोज्छन्। ‘केटालाई भन्दा केटीलाई फुटबल एडप्ट गर्न गाह्रो छ। अहिले टोलीमा देखिएको समस्या यही हो,’ उनले भने।
गत वैशाखमा सुर्खेतमा भएको लिग छनोट पार गरेर कर्णाली काठमाडौं आइपुगेको हो। तर, काठमाडौं आइपुग्न कर्णालीले जति लामो यात्रा तय गरेको छ त्यति लामो यात्रा लिगमा गर्न सक्छ भनेर खड्काले प्रमाणित गर्न सकेका छैनन्। ६ खेल बाँकी रहँदा कर्णाली जितविहीन हुनुले पनि यो कुरालाई प्रस्ट पार्न बल पुर्याउँछ।
कोशी प्रदेश र वालिङ नगरपालिकासँग ४-० ले पराजित भएको कर्णालीले एक अंक हात पार्न चन्द्रपुर नगरपालिकालाई बराबरीमा रोकेको थियो। त्यही एक अंकले तालिकाको पुछारमा पुग्न रोकिएको कर्णालीले बुधबार संकटाविरुद्ध जित हात पारे तीन स्थान सुधार गर्दै रेलिगेसन जोनलाई केही पछाडि छाड्ने छ। तर, मुख्य प्रशिक्षक खड्का यो कुरालाई भन्दा १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई बढी जोड दिएको बताउँछन्।
‘कोच को थियो भन्ने कुरा हुन्छ। म नयाँ परें। मेरो रणनीति र लक्ष्य फरक हुन्छ। मेरो लक्ष्य भनेको १०औं राष्ट्रिय खेलकुदको लागि पनि टिम तयार गर्नु हो। त्यसैमा फोकस छु,’ उनले भने।
अर्कोतर्फ संकटा भने अभ्यास गर्ने मैदान नपाएर छटपटी रहेको छ। चार विदेशी खेलाडी भित्र्याएर पनि राम्रो प्रदर्शन गर्न नसक्नुको मुख्य कारण नै मैदान रहेको मुख्य प्रशिक्षक रवीन्द्र शिलाकार तर्क गर्छ। अहिले यो टोलीले जावलाखेलमा रहेको सेन्ट जेभियरको मैदानमा अभ्यास गरिरहेको छ।
‘तीन/चार जनाबाहेक सबै खेलाडी फुटसलबाट आएका हुन्। उनीहरूलाई यस्तो मैदानमा खेल्ने बानी छैन। यस्तै मैदानमा अभ्यास गराउन ठाउँ छैन। पाएको मैदान पनि डिभाइड गरेर खेल्न पर्दा लिगमा राम्रो नतिजा दिन सकिएको छैन,’ उनले भने।
पहिलो खेलमै संकटा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ४-० ले पराजित भएको थियो। चन्द्रपुर नगरपालिकासँग गोलरहित बराबरी खेलेको संकटालाई तेस्रो खेलमा आफ्नै विदेशी गोलकिपर तेनिङ सेनेको आत्मघाती गोलले डुबाएको हो। अब लिगमा पौडिएर आफूलाई रेलिगेसनबाट बचाउने हो भने संकटालाई बुधबार कर्णालीविरुद्ध उत्रिँदा जितको विकल्प हुनेछैन।