काठमाडौं। एन्फा महिला लिगमा अपराजित यात्रा कायम राखेको कोशी प्रदेशले बुधबार बलियो प्रतिद्वन्द्वी पुलिसको सामना गर्दैछ।
अपराजित कोशीले लिगको १६औं खेलमा विभागीय टोली पुलिससँग भिड्न लागेको हो। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेल दिउँसो १२:३० बजे सुरु हुनेछ।
एन्फा मैदानमा दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन्। लिगमा तेस्रो खेल खेलेको कोशी ९ अंकसहित तालिकाको शीर्ष स्थानमा छ। समान खेलबाट सात अंक जोडेर पुलिस दोस्रो स्थानमा छ।
पहिलो खेलमा एपिएफसँग गोलरहित बराबरी खेलेको पुलिसले सुदूरश्चिमलाई ९-० र बगमती युथ क्लबलाई १-० ले हराउँदै ६ अंक जोड्न सफल भएको थियो। निरु थापाको कप्तानीमा रहेको पुलिस लगातार जित निकाल्दै उपाधि होडमै रहन चाहन्छ। कोशीविरुद्ध राष्ट्रिय सिनियर टोली अधिकांश र अनुभवी खेलाडी लिएर मैदाउन उत्रिने बलियो टोली पुलिस तेस्रो जितको खोजीमा हुनेछ।
कोशीको अपराजित यात्रा ब्रेक गर्नसके पुलिस शीर्ष स्थानमा उक्लिने छ। यता, सुरुवाती तीन खेलमा प्रभावशाली खेल प्रदर्शन गरेको कोशी शीर्ष स्थानमा कायमै रहने लक्ष्यमा हुनेछ। अधिकांश उमेरसमूहको राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडी लिएर मैदान उत्रिएको कोशी लिगको चौथो चरण सुरु हुँदा शतप्रतिशत जित निकाल्ने एक मात्रै टोली हो।
कोशीले कर्णाली प्रदेश तथा वालिङ नगरपालिकालाई ४-० र बागमती युथ क्लबलाई २-१ ले पराजित गरेको थियो। बुधबार साबिक विजेतासँग त्यही लयलाई कायम राख्ने प्रयास गर्नेछ।