काठमाडौं। नेपाली पुरुष राष्ट्रिय फुटबल टिमका खेलाडीहरूले तीन महिनायता न सँगै अभ्यास गर्न पाएका छन्, न त एकसाथ खेल्न नै। अखिल नेपाल फुटबल संघ (एन्फा) ले अन्तर्राष्ट्रिय खेलको व्यवस्था नगर्दा राष्ट्रिय टिमका खेलाडीहरू एकसाथ खेल्न र अभ्यास गर्नबाट वञ्चित भएका छन्।
अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय खेलका लागि छुट्टाएको अवधि ‘फिफा इन्टरनेसनल म्याच क्यालेन्डर’ अन्तर्गत यो सेप्टेम्बरमा (२ देखि १० तारिख) दक्षिण एसियाली देशहरू भारत, बंगलादेश, भुटान र श्रीलंका मैदानमा व्यस्त भए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) ले खेल्ने टिमको टुंगो नगर्दा नेपाली खेलाडीहरू घरमै सीमित भएका छन्।
एन्फा कार्यसमितिको पछिल्लो बैठकबारे एक सदस्यले भने, ‘महासचिवको तलब दोब्बरभन्दा बढी वृद्धि गरी मासिक २ हजार डलर (करिब २ लाख ६८ हजार रुपैयाँ) बनाउने निर्णय गरियो। कोच (भिन्सेन्जो अल्बर्टो एनेस) को करार नवीकरण नगर्ने निर्णय पनि भयो। तर, राष्ट्रिय टिमको लागि खेलको त कुरा नै भएन। सहिद स्मारक ए, बी र सी डिभिजन लिगबारे पनि निर्णय भएन।’
विश्वकप २०२६/एसियन कप २०२७ छनोटको दोस्रो चरणमा समूहको अन्त्यमा रहेको नेपालले एसियन कप छनोटको तेस्रो चरण आउने मार्च २०२५ मा सुरु गर्दैछ। त्यसको तयारी थालिहाल्नुपर्ने अवस्था छ। तर, यहाँ घरेलु लिग सञ्चालन गर्ने संकेतसम्म आएको छैन। न त एन्फाले अन्तर्राष्ट्रिय खेल खेल्ने व्यवस्था नै गरेको छ। घरेलु लिग नहुँदा खेलाडीहरू बेरोजगारजस्तै भएका छन्।
फिफाको म्याच क्यालेन्डरमा खेलिने अन्तर्राष्ट्रिय खेलका लागि खर्चको बन्दोबस्त पनि फिफाले नै गर्छ। खेल नै नखेल्दा यो सुविधा पनि नेपाली फुटबलले गुमाएको छ। विश्वकप/एसियन कप छनोटको दोस्रो चरणको अन्तिम खेलमा यमनविरुद्ध २–२ (११ जुन, २०२४/दमाम, साउदी अरेबिया) खेलेयता नेपाली टिम मैदानमा फर्किएको छैन।
यो साता भारतले सिरिया र मौरिससलाई बोलाएर हैदरवादमा इन्टरकन्टिनेन्टल कप खेल्यो। प्रतियोगितामा भारतको प्रदर्शन भने राम्रो भएन, जितविहीन र गोलविहीन रह्यो। भारतले अक्टोबरमा भियतनाम र लेबनानमसम्मिलित त्रिदेशीय प्रतियोगिता खेल्ने पनि पक्का भइसकेको छ।
बंगलादेशले थिम्पुमा भुटानविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्यो। उसले पहिलो खेल जित्यो। तर, दोस्रोमा भुटानले १–० को नतिजासहित बंगलादेशलाई आठ वर्षपछाडि हरायो।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भित्र्याएको श्रीलंका एसियन कप छनोटमा व्यस्त छ। कम्बोडियाविरुद्ध ५ सेप्टेम्बरमा कोलम्बोमा गोलरहित खेलेको श्रीलंकाले नोमपेनमा मंगलबार निर्णायक खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्यो। योसँगै दक्षिण एसियाका सात वटै देशले एसियन कप २०२७ छनोटको तेस्रो चरणमा स्थान बनाएका छन्।