काठमाडौं। दिपा शाहीको पाँच गोलसँगै विभागीय टोली त्रिभुवन आर्मी क्लबले एन्फा महिला लिगको एकै खेलमा सुदूरपश्चिम प्रदेशविरुद्ध १४ गोल बर्षाएको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले १४-१ को फराकिलो जित निकाले हो। जारी प्रतियोगितामा एकै खेलमा भएको यो सर्वाधिक गोल हो। यसअघि अर्को विभागीय टोली नेपाल पुलिस क्लबले सुदूरपश्चिम माथि नै ९ गोल गरेको थियो।
सुदूरपश्चिमले त्यही एक गोल पनि उपहार पाएको थियो। खेलको छैटौं मिनेटमा आर्मीले विमला चौधरीको गोलमार्फत खाता खोलेको थियो। १५औं मिनेटमा हिमा चौधरीले अर्को गोल थपिन्। २१औं मिनेटमा शान्ति विकले आत्मघाती गोल गर्दा नै आर्मीले ४-० को अग्रता लिइसकेको थियो।
त्यसपछि दिपाले २४ र ३०औं मिनेटमा दुई गोल थपिन। त्यसको पाँच मिनेटअघि नै चन्दा भण्डारीले अर्को गोल गरिसकेकी थिइन्। ४५औं मिनेटमा सन्जु कुमालले अर्को गोल थप्दा इन्जुरी समयमा दिपाले ह्याट्रिक पूरा गरिन्। पहिलो हाफमै आर्मीले ८-० को अग्रता लिएको थियो।
त्यसपछि दिपाले ५३ र ६१औं मिनेटमा दुई गोल थप्दै व्यक्तिगत पाँच र टोलीका लागि १० गोल पुर्याइन्। ६३औं मिनेटमा विमला विकले पनि गोल थपिन्। तर, ६७औं मिनेटमा निलम सिंहले आत्मघाती गोल गर्न पुग्दा सुदूरपश्चिम ११-१ को स्थितिमा पुगेको थियो।
८१औं मिनेटमा अनिता लम्जेल र ८७औं मिनेटमा सावित्रीदेवी मगरले गोल गरिन्। इन्जुरी समयमा अनिताले व्यक्तिगत दोस्रो गोल गर्दा आर्मीले १४-१ को फराकिलो जित हात पारिसकेको थियो।