काठमाडौं । दोस्रो संस्करणको सुदुरपश्चिम खप्तड गोल्डकप फुटबलको उपाधिका लागि आज (शनिबार) रुस्लान थ्री स्टार क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुदैछ । धनगढीको क्षेत्रीय रंगशालामा हुने फाईनल खेल दिउँसो २ बजे सुरु हुनेछ ।
सहिद स्मारक ए डिभिजन लिगको समापनसंगै सुदुरपश्चिमबाट मोफसलका गोल्डकपको सिजन सुरु भएको हो । लिगमा अपेक्षा अनुसारको नतिजा निकाल्न नसकेका थ्री स्टार र पुलिस मोफसलकै सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको फाईनल पुगेका छन् । उत्कृष्ट खेलाडी हुदाँ समेत टिम गेम खेल्न नसक्नु दुवैको कमजोरी हो । सोही कारण लिगमा राम्रो नजिता निकाल्न नसकेको दुवै टोलीको स्विकारोक्ति छ ।
खप्तड गोल्डकपको फाईनल पुगेका दुवै टोली आफुलाई लयमा फर्किएको देखाउन आतुर छन् । प्रतियोगिता अगाडी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा समेत दुवै टोलीका कप्तान र प्रशिक्षकले उपाधिका लागि आफुहरु तयार भएको बताएका थिए ।
पछिल्लो पटक दुवै टोली लिगमा भेटिएका थिए । जहाँ पुलिसले थ्री स्टारलाई ३–१ ले हराएको थियो । लिगमा ब्यहोरेको हारको बदला लिने अवसर थ्री स्टारलाई प्राप्त छ । पुलिस सोही प्रर्दशन खप्तडमा समेत कायम राख्न चाहन्छ ।
दुवै टोलीको साझा समस्या भनेको फरवार्ड लाईन हो । विदेशी खेलाडी मार्टिनलाई कारबाही गरेपछि थ्री स्टार मुख्य फरवार्डको अभावबाट पिरोलिएको छ । दुवै टोली डिफेन्स र मिडफिल्डमा उत्कृष्ट प्रर्दशन गर्दै विपक्षीलाई दबाबमा राख्ने योजनामा हुनेछन् ।
फाईनल अगाडी आयोजित पत्रकार सम्मेलनमा पुलिसका कप्तान बिक्रम धिमालले प्रशिक्षकको निर्देशनलाई खेलमा उतार्ने प्रयास गर्ने बताए । टिम निकै प्रोत्साहीत भएको बताउँदै उनले उपाधि जित्न आफुहरु सकारात्मक रहेको उल्लेख गरेका थिए ।
पुलिसका प्रशिक्षक अनन्त थापाले टिम निकै उत्साहीत रहेको बताउँदै आफुहरु फाईनलका लागि तयार रहेको बताए । टिम प्रर्दशनमा सुधार आएको दाबी गर्दै उनले थ्री स्टारविरुद्व आक्रमक खेल पस्किने उल्लेख गरे ।
लिगमा ३–१ को जित निकालेपनि थ्री स्टार उत्कृष्ट टिम हो । उपाधिका लागि कडा मेहनत गर्नेछौ ।’ उनले भनेका थिए ।
डिफेन्स र मिडफिल्डमा आफु बलियो रहेको संकेत गर्दै प्रशिक्षक थापाले फरवार्ड लाईन चल्न सकेमा उपाधि जित्ने दाबी गरे ।
‘खेल आधा आधा हो । जसले गोल गर्न सक्छ । उसैले जित्नेछ ।’ उनले भने ।
यता थ्री स्टारका कप्तान बिक्रम लामाले लिगको उतार चढाबपछि आफुहरु राम्रो नतिजाका लागि खेल्ने बताए ।
सेन्टर डिफेन्सबाट मिडफिल्डमा फर्किएका कप्तान बिक्रमले भने, ‘म आफ्नै पोजिसनमा खेल्न पाएको छु । पुलिस उत्कृष्ट छ । टिमको कडा परिश्रमले उपाधि हासिल गर्न हामी तत्पर छौ । लिगमा पुलिससंग हारेपनि खप्तडमा शतर्क भएर खेल्नेछौ ।’
थ्री स्टारका प्रशिक्षक उज्जवल मानन्धरले आफुहरु उपाधिका लागि सुदुरपश्चिम आएको बताए ।
‘हामी उपाधिका लागि यहाँ छौ । लिगपछिको खेल हेर्दा खेलाडीहरु निकै फरक र उत्साहित देखिएका छन् ।’ उनले भने ।
प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख पाउनेछ । प्रतियोगिताको साविक विजेता आर्मीलाई दोस्रो संस्करणमा सहभागि गराईएको छैन ।