काठमाडौं। शीर्ष डिभिजनको क्लब जावलाखेल युथले एकेडेमी सञ्चालन गर्ने भएको छ। क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीका अनुसार एकेडेमीमा प्रशिक्षक सुनील श्रेष्ठ, किशोरकुमार केसी र मेघराज केसीले खेलाडीलाई प्रशिक्षण दिनेछन्।
‘अहिले एएफसी क्लब लाइसेन्स पाउन पनि एकेडेमी अनिवार्य भइसक्यो। अघिल्लो वर्ष पनि हामीले एकेडेमी सञ्चालन गरेका थियौं। तर, व्यवस्थित गर्न सकेनौं। यसपल्ट फरक ढंगले एकेडेमी सञ्चालन गर्न लागेका हौं,’ उनले खेलपाटीसँग भने, ‘यसले ए डिभिजनका लागि पनि ब्याक बोनको काम गर्छ कि भन्ने आश राखेका छौं।’
उनका अनुसार एकेडेमीमा १५ वर्षभन्दा तलका खेलाडीलाई प्रशिक्षण दिइने छ। खेलाडीलाई हप्ताको सातै दिन प्रशिक्षण दिने व्यवस्था आफूहरूले मिलाएको क्षेत्रीले बताए। ‘अहिले वर्षाको समय छ। त्यसैले एक वर्ष नै चलाउन सक्ने स्थिति छैन। त्यसैले ८/९ महिना सञ्चालन गर्ने लक्ष्यसाथ एकेडेमी सञ्चालन गर्न लागिएको हो,’ उनले भने।
जावलाखेलले यु-१६ र यु-१८ देखि शीर्ष डिभिजनको प्रतियोगितामा सहभागिता जनाइरहेको छ। तर, आफ्नै एकेडेमी नहुँदा जावलाखेलले अन्य क्लबले उत्पादन गरेको खेलाडीमा भर परिरहनु पर्ने अवस्था छ। एकेडेमी सञ्चालन गर्ने पक्का भएसँगै वर्षाले बिगारेको मैदानमा माटो हालेर सम्म्याउने काम भइरहेको क्षेत्रीले जानकारी दिए।
प्रशिक्षक मेघराजका अनुसार एकेडेमी असोज १ गतेदेखि सञ्चालनमा आउनेछ। उनी अहिले विभागीय टोली त्रिभुवन आर्मीसँग पनि जोडिएका छन्। उक्त क्लबलाई पनि निरन्तरता दिँदै एकेडेमीमा पनि जोडिएको उनले बताए।
‘जावलाखेल आफ्नै घर भयो। त्यहाँ धेरै कोचहरू पनि भएको कारण सहमतिमै एकेडेमी पनि चलाऔं भनेर जोडिएका हौं,’ उनले भने। सुनील, किशोर र मेघाराज एएफसी ‘ए’ लाइसेन्सप्राप्त प्रशिक्षक हुन्। उनीहरू सबैले ‘ए’ डिभिजन लिगमा जावलाखेललाई प्रशिक्षण दिइसकेका छन्।