काठमाडौं। एन्फा महिला लिगमा सबैभन्दा खराब प्रदर्शन कसैले गरेको छ भने त्यो सुदूरपश्चिम प्रदेशले नै हो।
दुई खेलमै १३ गोल खाएको सुदूरपश्चिमले लिगमा अंक जोड्नु त परै जावोस् प्रतिस्पर्धात्मक खेल पनि देखाउन सकेको छैन। त्यही टोलीले मंगलबार विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्दै छ। यो खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा अपरान्ह्र ३ बजे हुने छ।
सुदूरपश्चिमलाई पहिलो खेलमै बागमती युथ क्लबसँग ५-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले ९-० को हार चखाएको थियो।
गत बैसाखमा सुर्खेतमा भएको लिग छनोट पार गरेर काठमाडौं आएको सुदूरपश्चिम ६ खेल बाँकी रहँदा थप दबाबमा परेको छ। किनभने यो टोली अहिलेसम्म अंक तालिकाको पुछारमा छ।
अर्कोतर्फ आर्मी भने लय समात्ने लक्ष्यमा हुनेछ। पहिलो खेलमा लिग डेब्यु गरिरहेको संकटालाई ४-० ले पराजित गरेपनि आर्मीले विभागीय डर्बीमा एपिएफसँग भिड्दा त्यो लय कायम राख्न सकेको थिएन।
गोलकिपर अन्जना रानामगरले गरेको गल्तीका कारण २-१ को हार बेहोरेको आर्मी अंक तालिकामा छैटौं स्थानमा छ। त्यसैले तेस्रो खेलमा सुदूरपश्चिमलाई हराएर आर्मी आफ्नो लयसँगै अंकतालिकामा पनि सुधार गर्न चाहन्छ।