काठमाडौं। डेभिड फ्रेटेसी र मोइस केनको जोडीको गोलमा इटालीले सोमबार इजरायलमाथि २–१ को जित हासिल गरेको छ। योसँगै लुसियानो स्पालेट्टीको टोली नेसन्स लिग ए समूह २ को शीर्ष स्थानमा कायमै रहन सफल भएको छ।
शुक्रबार राति भएको पहिलो खेलमा फ्रान्सलाई ३–१ ले पराजित गरेको थियो। योसँगै इटाली ६ अंकका साथ तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
समूहचरणको अर्को खेलमा फ्रान्सले तेस्रो स्थानको बेल्जियमलाई २–० ले पराजित गरेको छ भने इजरायल अंकविहीन रहँदै पुछारमा छ ।
३८औं मिनेटमा फ्रेटेसीले गोल गर्दै इटालीलाई सुरुआती अग्रता दिलाएका थिए। ६२औं मिनेटमा केनले रिबाउन्डमा गोल गर्दै इटालीको अग्रता २–० मा पुर्याए।
सुरक्षाको कारण देखाउँदै हंगेरीको बुडापेस्टमा खेलेको इजरायली टोलीका मोहम्मद अबु फानीले ९०औं मिनेटमा फ्रिकिकबाट गोल गरेपनि पर्याप्त हुन सकेन।