काठमाडौं । थाइल्याण्ड महिला टी ट्वान्टी स्म्यास क्रिकेटको फाइनलमा नेपालले आज (शनिबार) घरेलु टोलीको सामना गर्दैछ ।
समूह चरणमा अपराजित रहदै फाइनल पुगेको नेपाली टोलीले अपरान्ह आयोजक तथा घरेलु टोली थाइल्याण्डको सामना गर्न लागेको हो । नेपाल र थाइल्याण्डबीचको खेल अपरान्ह १२:१५ मा सुरु हुनेछ ।
थाइल्याण्डविरुद्ध मैदान उत्रदा नेपाल उपाधि जित्ने लक्ष्यमा हुनेछ । लामो समय उपाधि बिहिन रहदै आएको महिला क्रिकेट टोलीलाई उपाधि ल्याउने सुनौलो अवसर छ । तर, घरेलु समर्थकको साथ पाएको थाइल्याण्डविरुद्ध नेपाललाई कठिन चुनौती भने रहेको छ ।
समूह चरणमा अपराजित र सेमिफाइनलमा इन्डोनेसियालाई हराएको नेपाल उच्च मनोबलमा रहेको छ । शुक्रबार भएको सेमिफाइनलमा नेपालले इन्डोनेसियालाई ९२ रनले हराएको थियो ।
यता, थाइल्याण्ड पनि अपराजित रहदै फाइनलमा पुगेको हो । सेमिफाइनलमा थाइल्याण्डले युएईलाई हराएर नेपालसंगको भेट पक्का गरेको थियो ।
नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले हराएको थियो । यस्तै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । तेस्रो खेलमा युएईलाई ६ विकेटले हराएको नेपालले अन्तिम खेलमा थाइल्याण्ड 'ए' लाई ९ विकेटले हराएको थियो ।