काठमाडौं। पहिलो खेलमा विभागीय टोलीसँग ४-० ले पराजित भएपनि चन्द्रपुर नगरपालिकालाई गोलरहित बराबरीमा रोकेको संकटा फुटबल क्लले एन्फा महिला लिगमा जित हासिल गर्न सकेको छैन।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी लिगको दुई खेल सकिँदा संकटा अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ। यो स्थान सुधार गर्न संकटाले सोमबार वालिङ नगपालिकाको सामना गर्नेछ। यो खेल दिउँसो १२:३० बजे हुनेछ।
पाँच दिनको तयारी गर्दै काठमाडौं आएको वालिङले पनि लिगमा सुखद् सुरुआत गर्न सकेको थिएन। पहिलो खेलमा समीक्षा मगरले दुई गोल गरेपछि कोशी प्रदेशले वालिङलाई ४-० ले पराजित गर्दै लिग सहज नरहेको सन्देश दिएको थियो।
तर, दोस्रो खेलमा युगान्डाकी फरवार्ड ज्याकिलिन नस्साली लिएर मैदान फर्किएको वालिङले कर्णाली प्रदेशलाई सोही स्कोरले पराजित गरेको थियो। वालिङको जितमा ज्याकिलिनले ह्याट्रिक गोल गरेकी थिइन्। उनी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी थिइन्।
लिगको अंकतालिकामा नवौं स्थानमा रहेको संकटा पहिलो जितको खोजीमा रहँदा वालिङ भने दोस्रो खेलको लयलाई निरन्तरता दिन चाहन्छ। यो खेलमा जित हात पारे वालिङ तीन स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिने छ। संकटालाई पनि जित हासिल गर्दै पुछारको स्थान छाड्ने मौका छ।