काठमाडौं। क्रोएसियाका कप्तान लुका मोड्रिच सोमबार ३९ वर्ष पुगेका छन्। तर, पोर्चुगलका भेट्रान स्टाइकर क्रिस्टियानो रोनाल्डोजस्तै उनी पनि आफ्नो देशका लागि सधैंजस्तै अभिन्न छन्।
नेसन्स लिगअन्तर्गत पोल्यान्डविरुद्धको जितमा उनै ‘बड्डे ब्वाइ’ मोड्रिचले गरेको निर्णायक गोलमा क्रोएसियाको १–० को जित हात पारेको छ।
स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डरले बक्सको किनाराबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकले सीधै जाली चुमेको थियो। यसैले पनि प्रमाणित गरेको छ उनीसँग अझै उत्कृष्ट प्रदर्शन गर्ने गुण छ।
मोड्रिचले आफ्नो देशका लागि १८० खेलमा २७औं गोल पुर्याएका छन्। बिहीबार नेसन्स लिगको पहिलो खेलमा पोर्चुगलसँग २–१ गोलअन्तरले पराजित भएको क्रोएसियाले सुरुआतदेखि नै दबाब सिर्जना गरेको थियो। तर, डुजे कालेटा–कार र मोड्रिचले मौका पाए पनि सदुपयोग गर्न नसक्दा पहिलो हाफ खेल गोलरहित बराबरीमा टुंगिएयो।
क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले मध्यान्तरपछि पोल्यान्डका निकोला जालेव्स्कीलाई गोल गर्नबाट रोके। समूह ‘ए’ सोमबार नै भएको खेलमा स्कटल्यान्डलाई २–१ गोलअन्तरले पराजित गरेको पोर्चुगल ६ अंकका साथ समूहको शीर्ष स्थानमा छ।
दोस्रो स्थानमा रहेको क्रोएसिया र पोल्यान्डको समान ३ अंक छ। समूह चरणको पहिलो खेलमा स्कटल्यान्डलाई ३–२ ले पराजित गर्दा पोल्यान्डका लागि ३६ वर्षीय रोबर्ट लेवान्डोस्कीले गोल फ्रेममा गोल गरेका छन्।