काठमाडौं। दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशमाथि ९ गोल वर्षाएको विभागीय टोली नेपाल पुलिस क्लब एन्फा महिला लिगमा शीर्ष स्थानमा उक्लिने दाउमा छ।
यही दाउमा रहेको पुलिसलाई आइतबार एन्फा कम्प्लेक्समा हुने खेल पहिलो खेलको कोशी र कर्णाली प्रदेशबीचको नतिजाले मात्रै पुग्दैन उसलाई स्पष्ट तीन अंकको पनि आवश्यकता रहने छ।
त्यही तीन अंक हात पार्न पुलिसले सोही मैदानमा हुने दिनको दोस्रो खेलमा बागमती युथ क्लबसँग प्रतिस्पर्धा गर्नेछ। बागमतीले पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ ले पराजित गरेको थियो। तर, दोस्रो खेलमा भने दिव्या यासमाली मगरले आफ्नै पोस्टमा गोल गरिदिँदा कोशीलाई तीन अंक सुम्पिन बाध्य भयो।
त्यसैले अपरान्ह्र ४:१५ बजे हुने खेलमा बागमती दोस्रो जितको खोजिमा हुनेछ। पुलिसले पनि पहिलो खेलमा अर्को विभागीय टोली एपिएफसँऊ गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो।
दुई खेलबाट चार अंक जोडेको पुलिस अंक तालिकामा दोस्रो स्थानमा छ, जुन शीर्ष स्थानको कोशीको भन्दा दुई अंक मात्रै कम हो। समान खेल खेलेको बागमती भने तीन अंकसहित चौथो स्थानमा छ।