काठमाडौं। नेसन्स लिग फुटबलअन्तर्गत बिहीबार राति भएको खेलमा क्रिस्टियानो रोनाल्डोले लुका मोड्रचको टोलीविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै करियरको ९००औं गोल पूरा गरेका छन्।
मोड्रिचको क्रोएसियामाथि पोर्चुगलको २–१ को जितमा गोल गर्दै ३९ वर्षीय रोनाल्डो क्लब र देशका लागि आधिकारिक खेलमा ९ ०० गोल पूरा गर्ने पहिलो खेलाडी बनेका हुन्।
‘यसले धेरै अर्थ राख्छ,’ रोनाल्डोले भने, ‘यो एक माइलस्टोन थियो, जुनमा म लामो समयसम्म पुग्न चाहन्थें। म यो नम्बरमा पुग्नेछु भन्ने मलाई थाहा थियो।’ लिस्बनस्थित लाइट स्टेडियममा भएको खेलको सातौं मिनेटमा डियोगो डालोटले गोल गर्दै पोर्चुगललाई १–१ को अग्रता दिलाएका थिए।
३४औं मिनेटमा रोनाल्डोले गोल गर्दै पोर्चुगललाई २–१ को अग्रता दिलाएका थिए। उनले आफ्नो हात टाउकोमा राखे र घुँडा टेकेर उत्सव मनाए।
रोनाल्डोको यो १३१औं अन्तर्राष्ट्रिय गोल हो। युरो कप २०२४ का पाँच खेल खेलेका उनी गोललविहीन बनेका थिए। पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
उनले ९००औं गोल गर्ने क्रममा ४५० गोल स्पेनिस महारथी रियल मड्रिडबाट गरेका थिए। पोर्चुगलको राष्ट्रिय टोलीबाट १३१, इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट १४५, इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्सबाट १०१, अल–नासरबाट ६८ र स्पोर्टिङ सिपीबाट पाँच गोल गरेका छन्।
रोनाल्डो आफ्नो फुटबल करियरको अन्त्यतिर छन्। यद्यपि, उनले तत्कालै सन्न्यास लिने मन बनाएका छैनन्।