काठमाडौं। देशका दुई ठूला व्यवसायीक घराना भाटभटेनी र आइएमइ ग्रुप फ्रेन्चाइज क्रिकेट नेपाल प्रिमियर लिग (एनपिएल) को टेन्डर प्रक्रियाबाट बाहिरिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान) ले अन्तिम १६ व्यवसायीक समूहलाई टेन्डर प्रक्रियामा सामेल गराउँदा भाटभटेनी र आइएम बाहिरिएका हुन्। एनपिएललाई लिएर क्यानको प्रारम्भिक प्रस्ताव र पछिल्लो एक्सनमा फरक देखिएको भन्दै भाटभटेनी र आइएमइ ग्रुपले फ्रेन्चाइज क्रिकेटबाट बाहिर बस्ने निर्णय गरेका हुन्।
क्यानले बिहीबार बोलकबोल टेन्डरमार्फत १६ व्यवसायीक समूहलाई पूर्वनिर्धारित आठ टोलीमा विभाजन गर्दैछ। क्यानले प्रत्येक टोलीको न्यूनतम एक करोड रुपैयाँबाट बोली लगाएको छ। जसमा अधिकतम पैसा कबोल गर्ने समूहले एनपिएलको फ्रेन्चाइज टिम प्राप्त गर्नेछन्। तर, बिहीबारको अन्तिम टेन्डर प्रक्रियाबाट दुवै ठूला नेपाली व्यवसायीक घरानाले हात झिकेका छन्।
‘प्रक्रिया पनि लम्बिँदै गयो। अन्तिममा क्यानको प्रस्ताव समेत व्यवसायीक हिसाबले स्पष्ट देखिएन,’ आइएमइ ग्रुपका सचिन ढकालले खेलपाटीसँग भने। उनले क्यानको निर्णय अनुसार उपयुक्त समय नभएको देखेर आफूहरूले हात झिकेको बताए।
क्यानले सुरुवातमा एक करोड मूल्यमा ६ फ्रेन्चाइज टिम वितरण गर्ने प्रस्तावसहित टेन्डर प्रक्रिया सुरु गरेको थियो। प्रक्रिया अघि बढ्दै गर्दा क्यानले फ्रेन्चाइज टिमको संख्या मात्र बढाएको छैन, बोलकबोलमार्फत अधिकतम मूल्यमा टिम बिक्री गर्ने विधि अपनाएको छ।
‘सुरुवातमा क्यानले एउटा प्रस्ताव गर्यो। पछि अर्को कुरा गर्यो,’ भाटभटेनी समूहका एक लगानीकर्ताले भने, ‘प्रस्तावमा एउटा रेट छ, बिडिङसम्म पुग्दा अर्को देखिन्छ। व्यवासायीक हिसाबले लगानीको कुनै स्पष्टता देखिँदैन।’
‘अझै हामी क्यानले सोचेको स्तरमा लगानी गर्ने अवस्थासम्म पुगेका छैनौं कि भन्ने निष्कर्षमा पुगेका छौं।’ व्यंग्य शैलीमा उनले थपे। भाटभटेनी र आइएमइ ग्रुपले फ्रेन्चाइज फुटबल नेपाल सुपर लिगमा भने लगानी गरेका छन्। भाटभटेनीले ललितपुर र आइएमइले चितवन सहरमार्फत फुटबलमा लगानी गरेका छन्।
क्यानले १३ जनाको सूची अन्तिम बिडिङका लागि तयार गरेको थियो। जसमा सुदूरपश्चिम, कर्णाली, जनकपुर, विराटनगर, चितवन, लुम्बिनी, पोखरा र काठमाडौं लिलामीमा छन्।