काठमाडौं। अस्मिता खवासको ह्याट्रिका सुदूरपश्चिम प्रदेशमाथि ५-१ को फराकिलो जित हासिल गरेको बागमती युथ क्लब एन्फा महिला लिगमा त्यही लयलाई निरन्तरता दिने लक्ष्यमा छ।
यसका लागि बागमतीले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो १२:३० बजे हुने खेलमा कोशी प्रदेशको सामना गर्नेछ। छनोट नै नखेली लिगमा सीधै प्रवेश पाएको बागमतीले पहिलो खेलमा खेलाडी विवादका कारण कमजोर देखिएको सुदूरपश्चिममाथि गोलको वर्षा गरेको थियो। अस्मिताबाहेक साहरा लिम्बू र आरती भुजेलले पनि गोल थपेका थिए। बागमती अंक तालिकाको शीर्ष स्थानमा छ।
समान अंक रहेपनि कोशी अंक तालिकाको दोस्रो स्थानमा छ। बागमतीले झैं कोशीले लिगमा वालिङ नगरपालिकालाई ४-० ले पराजित गर्दै सानदार सुरुआत गरेको थियो। गत बैशाखमा सुर्खेतमा भएको महिला लिग छनोटमा अपराजित रहँदै उपाधि जितेको कोशी सोही लयलाई दोहोर्याउने लक्ष्यमा छ।
पहिलो खेलमा कोशीलाई जिताउन समीक्षा मगरले दुई गोल गरिन्। उनले छनोटमा पनि आफ्नो खेलबाट सबैलाई प्रभावित पारेकी थिइन्। यस्तै, सन्जुमाया तामाङले एक गोल गर्दा वालिङकी यमकुमार विकले एक गोल उपहार दिएकी थिइन्।
सातदोबाटोमै हुने अर्को खेलमा भने वालिङ र कर्णाली पहिलो जितको खोजीमा हुनेछन्। गत मंगलबार चन्द्रपुर नगरपालिकासँगको खेलमा कर्णालीले सुनकला राईको गोलमार्फत सातौं मिनेटमै सुरुआती अग्रता लिएको थियो।
तर, रजनी रजनी थोकरले पहिलो हाफको इन्जुरी समयमा गोल फर्काउँदै कर्णालीबाट अंक खोसेकी थिइन्। यसपल्ट कर्णाली पुन: तीन अंक प्राप्त गर्ने लक्ष्यसहित मैदान उत्रिने छ। पाँच दिन प्रशिक्षण गर्दै काठमाडौं ओर्लिएको वालिङ प्रतियोगितामा कमजोर देखिएको छ। त्यसैले कर्णालीलाई रोक्ने प्रयासमा हुनेछ।