काठमाडौं। यौन दुर्व्यवहारको आरोप लागेका भ्यालेन्सियाका स्ट्राइकर राफा मीर रिहा भएका छन्।
आफूमाथि लागेको आरोपमा बयान दिएपछि स्पेनको एक अनुसन्धान न्यायाधीशले उनलाई सशर्त रिहा गर्न आदेश दिएका हुन्।
२७ वर्षीय मीरविरुद्ध एक महिलाले उजुरी दिएपछि प्रहरीले उनलाई सोमबार पक्राउ गरेको हो। मीरका वकिल जाइम क्याम्पानेरले उक्त यौन सम्बन्ध सहमतिमा भएको बताएका छन्।
मीर नियमित रूपमा अदालतमा उपस्थित हुनुपर्नेछ र अनुसन्धान खुला रहेसम्म उनलाई देश छोड्न अनुमति दिइने छैन। २७ वर्षीय मीरले वुल्भरह्याम्पटन वान्डरर्स र सेभियाका लागि पनि खेलेका थिए। अहिले उनी आफ्नो बाल्यकालको क्लब भ्यालेन्सियामा लोनमा छन्।