काठमाडौं। भ्यालेन्सियाका स्ट्राइकर राफा मीर यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन्। स्पेनिस गार्डिया सिभिल प्रहरीले उनलाई पक्राउ गरिएको हो।
गार्डिया सिभिलका प्रवक्ताले भ्यालेन्सियामा ला लिगाका एक खेलाडीलाई एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको पुष्टि गरेको थियो। तर, नाम भने खुलाएको थिएन।
भ्यालेन्सियाले एक विज्ञप्ति जारी गर्दै पक्राउबारे आफू जानकार रहेको र न्याय प्रणालीलाई सहयोग गर्ने जनाएको छ। २७ वर्षीय मीरले वुल्भरह्याम्पटन वान्डरर्स र सेभियाका लागि पनि खेलेका थिए। अहिले उनी आफ्नो बाल्यकालको क्लब भ्यालेन्सियामा लोनमा छन्।
क्याडेना सेर रेडियो स्टेसनजले मीर मंगलबार आफ्नो टोलीसँग प्रशिक्षणमा उपस्थित नभएको समाचार प्रशारण गरेको थियो। घटनामा संलग्न रहेको आरोपमा अर्का एक जनालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।