काठमाडौं। पाकिस्तानका टेस्ट कप्तान शान मसूदले बंगलादेशविरुद्धको शृंखलामा निराशाजनक हार बेहोरे पनि आफ्नो भविष्यबारे चिन्तित नभएको बताएका छन्। बंगलादेशले पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै सिरिज २–० ले जितेको छ।
खेलपछि मसूदले भने,‘म हारको जिम्मेवारी लिन्छु र देशसँग माफी माग्छु। हामीले कसरी सुधार गर्न सक्छौं र हाम्रो टेस्ट टोलीलाई कसरी अगाडि बढाउन सक्छौं भन्नेमा ध्यान केन्द्रित गर्नुपर्छ।’
मसूदले करिब १० महिनाको अन्तरालपछि टेस्ट क्रिकेट खेल्नु सजिलो नभएको बताए। उनले भने,‘हामी रातो बलको क्रिकेटका लागि तयार थिएनौं। यदि हामी अगाडि बढ्ने हो भने हामीले केही असफलता सहनुपर्छ।’
शाहीन शाह अफ्रिदी र नसीम शाहलाई आराम दिएपछि पाकिस्तानी बलरहरूले दोस्रो टेस्टमा लगातार प्रभाव पार्न संघर्ष गरे। मसूदले पछिल्ला दुई टेस्ट पाकिस्तान क्रिकेटको पछिल्लो तीन दशकको सबैभन्दा कालो दिन भएको बताए।
पाकिस्तानले पहिलो इनिङ्समा २६ रनमा ६ विकेट गुमाएर बंगलादेशलाई २ सय ६२ रन दिएपछि टेस्ट म्याच हातबाट बाहिरिएको मसूदले बताए। पाकिस्तानका कप्तानले पनि टिमले राम्रो फिटनेस मापदण्ड हासिल गर्न प्रयास गर्नुपर्ने बताए। ‘टेस्ट क्रिकेटमा पाँच दिन टिक्नका लागि फिटनेस चाहिन्छ र पाँच दिन को इन्टेन्सिटी हुनुपर्छ,’ उनले भने।