काठमाडौं। नर्वेका प्रशिक्षक स्टेल सोल्भाक्केनले सन् २०२६ को विश्वकपपछि राजीनामा दिने बताएका छन्।
नर्वेका ५६ वर्षीय पूर्वमिडफिल्डरले सन् २०२० मा प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए। तर, स्ट्राइकर एर्लिङ हालान्डलाई आफ्नो टोलीमा समावेश गरे पनि नर्वे युरो कप २०२४ मा छनोट हुन असफल भएको थियो।
‘म अझै पनि जवान छु। म केही अन्य काम पनि गर्न चाहन्छु। मैले धेरै क्लबलाई अस्वीकार गरेको छु। तर, म यहाँ एक अन्तिम प्रयास गर्न कटिबद्ध छु। यदि नर्वे विश्वकपमा छनोट भए त्यसपछि राजीनामा दिनेछु,’ उनले भने।
नर्वेले सन् १९९८ मा फ्रान्समा भएको विश्वकपमा सोल्भाक्केन टोलीमा समावेश भएयता कुनै पनि विश्वकप खेलेको छैन। पछिल्लो पटक नेदरल्यान्ड्स र बेल्जियममा भएको युरो कप २००० मा नर्वेले सहभागिता जनाएको थियो। उक्त प्रतियोगितामा नर्वे समूहचरणबाट बाहिरिएको थियो।
हालैका वर्षमा नर्वेजियनहरूले हालान्ड र ओस्कर बोब, मार्टिन ओडेगार्डजस्ता केही उत्कृष्ट फुटबलर उत्पादन गरेका छन्। तर, नर्वेले छनोटचरण पार गर्न सकेको छैन।