काठमाडौं। नेदरल्यान्ड्सका मिडफिल्डर जोय वीरम्यान नेसन्स लिग खेलका लागि चोटका कारण टोलीबाट बाहिरिने दोस्रो खेलाडी बनेका छन्।
जर्मनीमा भएको युरो कप २०२४ मा नेदरल्यान्ड्सलाई सेमिफाइनलसम्म पुर्याएका २५ वर्षीय जोयले आइतबार गो अहेड इगल्सविरुद्ध पीएसभीको आइन्डहोभेनको ३–० को जितमा गोल गरेका थिए। तर, उनी ६५ मिनेटपछि खुट्टाको चोटका कारण मैदानबाट बाहिरिएका थिए।
डच एफए (केएनभीबी) ले सोमबार बोर्नमाउथका २५ वर्षीय जस्टिन क्लुइभर्टलाई उनको स्थानमा बोलाइएको जनाएको छ।
क्लुइभर्टले ६ वर्षपछि टोलीमा पुनरागमन गरेका हुन्।
यसअघि सोमबार टोटनह्यामका मिकी भान डे भेन बाहिरिएपछि ब्राइटनका डिफेन्डर यान पल भान हेकेलाई टोलीमा पहिलो पटक बोलाइएको थियो।
२३ वर्षीय भान डी भेनले गत साता टोटनह्यामबाट प्रशिक्षण लिएका थिए। तर, आइतबार न्युक्यासल युनाइटेडसँग २–१ को हार बेहोर्दा उनलाई टोलीमा समावेश गरिएको थिएन। एभर्टनसँगको खेलमा उनलाई घुँडामा चोट लागेको थियो।
भ्यान डे भेन म्याच फिट नभएकाले उनको स्थानमा २४ वर्षीय वान हेकेलाई टोलीमा समावेश गरिएको जनाएको छ। नेदरल्यान्ड्सले शनिबार आइन्डहोभेनमा बोस्निया एन्ड हर्जेगोभिनाको सामना गर्नेछ भने त्यसको तीन दिनपछि एम्स्टर्डमको जोहान क्रुइफ एरिनामा जर्मनीसँग खेल्नेछ।