काठमाडौं। उरुग्वेका अनुभवी स्ट्राइकर लुइस सुआरेजले ३७ वर्षको उमेरमा सोमबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्।
१४२ खेलमा ६९ गोल गरेका उरुग्वेका सर्वकालिक सर्वाधिक गोलकर्ता तथा लिभरपुल र बार्सिलोनाका पूर्वफरवार्ड सुआरेजले शुक्रबार पाराग्वेविरुद्ध आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेल खेल्नेछन्।
सेन्टेनारियो रंगशालामा आयोजित पत्रकार सम्मेलनमा रुँदै सुआरेजले भने, ‘यो भन्न पाउँदा दुःख लाग्छ, तर शुक्रबार मेरो देशको राष्ट्रिय टोलीसँग अन्तिम खेल हुनेछ।’
उरुग्वेले त्यस दिन पाराग्वेसँग विश्वकप छनोट खेल खेल्नेछ। सन् २००७ देखि उरुग्वेका लागि खेल्दै आएका सुआरेजले सन्न्यास लिने यो उपयुक्त समय भएको बताए।
‘अर्को विश्वकपमा पुग्न गाह्रो छ। चोटका कारण होइन, आफैंले सन्न्यास लिनु सान्त्वनादायी छ,’ उनले भने। सुआरेज उरुग्वेको टोलीमा चार विश्वकप र पाँच कोपा अमेरिका प्रतियोगिताका खेलेका छन्। उनले सन् २०११ को महादेशीय प्रतियोगिताको उपाधि जितेका थिए।
सुआरेज आफ्ना घनिष्ठ मित्र लिओनल मेसीसँग इन्टर मियामीमा खेल्छन् र क्लबस्तरमा आफ्नो क्यारियर जारी राख्ने योजना बनाएका छन्। यी दुईले सन् २०१४ देखि २०२० सम्म बार्सिलोनामा सँगै खेलेका थिए। सुआरेजले अजाक्स, लिभरपुल, एट्लेटिको मड्रिड र ग्रेमियोबाट पनि खेलेका थिए।