काठमाडौं। बुन्डेसलिगाअन्तर्गत शनिबार राति भएको खेलमा आरबी लाइपजिगसँग ३–२ गोलअन्तरले पराजित भएपछि बायर लेभरकुजेनका प्रशिक्षक जाबी अलोन्सोले डिफेन्समा कमजोरी देखिएको स्वीकार गरेका छन्।
जेरेमी फ्रिम्पोङ र अलेजान्द्रो ग्रिमाल्डोले गोल गरेपछि लेभरकुजेन २–० ले अघि बढेको थियो। तर, केभिन कम्पलले पहिलो हाफको इन्जुरी समयमा लाइपजिगका लागि एक गोल फर्काएका थिए भने लुइस ओपन्डाले हाफटाइमपछि दुई गोल थपेका थिए।
‘हामी यो खेलबाट धेरै सकारात्मक र नकारात्मक कुरा लिनेछौं । हामीले पहिलो हाफमा राम्रो खेल खेलेका थियौं। हामी यसमा खुसी थियौं। दोस्रो हाफमा पनि यसलाई निरन्तरता दिन चाहन्थ्यौं। तर, हामीले नियन्त्रण गर्न सकेनौं र लाइपजिगलाई धेरै ठाउँ दियौं। ब्याक लाइनमा हामीले राम्रो प्रदर्शन गर्न सकेनौं,’ उनले भने।
लेइपजिगले लेभरकुजेनको ३५ खेलको अपराजित यात्रामा ब्रेक लगाएको छ। सन् १९८२–८३ मा ह्याम्बर्गले ३६ खेलमा अपराजित यात्राको कीर्तिमान बनाएको थियो। त्यो कीर्तिमान बराबरी गर्ने या तोड्ने लेभरकुजेनलाई मौका थियो। ‘२–० को अग्रता लिएपछि हामी राम्रो लयमा थियौं। तर, थप आक्रमण बुन्न चाहन्छौं,’ अलोन्सोले भने।