काठमाडौं। स्टार स्ट्राइकर केलियन एमबाप्पे स्पेनिस क्लब रियल मड्रिड गएपछि डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) उस्तै नरहने आकलन गरिएको थियो।
तर, एमबाप्पेबिना पनि पिएसजी फ्रेन्च लिग वानको नयाँ सिजनमा उत्कृष्ट सुरुआत गर्न सफल भएको छ। आइतबार पिएसजीले लिलमाथि ३–१ को जित हात पारेको छ।
योसँगै तीन खेलबाट १३ गोल गरेको पिएसजी तीन खेलबाट नौ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। पिएसजीले ले हाभ्रेलाई ४–१ र मोन्टपेलियरलाई ६–० ले हराएको थियो।
खेलको ३३औं मिनेटमा भिटिन्हाले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि ब्राडली बारकोलाले गोल गर्दै डिफेन्डिङ च्याम्पियनको अग्रता दोब्बर पारे। ७८औं मिनेटमा इडोन झेग्रोभाले गोल गर्दै लिललाई २–१ मा ल्याए। तर, दोस्रो हाफको इन्जुरी समयमा कोलो मुआनीले गोल गर्दै टोलीलाई ३–१ ले जिताए।
आइतबार राति भएको खेलमा मोनाको र लेन्सले १–१ गोलको बराबरी खेले। ८४औं मिनेटमा डेनिस जकारियाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफको इन्जुरी समयमा प्रिजेमिस्लाव फ्रान्कोव्स्कीको पेनाल्टीमा गोल गर्दै लेन्सलाई एक अंक दिलाए। अन्य खेलमा नाइसले एन्जर्सलाई ४–१, हाभ्रेले अक्सेरेलाई ३–१ र रिम्सले रेनेसलाई २–१ ले पराजित गरे।