काठमाडौं। केलियन एमबाप्पेले आठ मिनेटभित्र दुई गोल गर्दै स्पेनिस ला लिगामा आफ्नो गोलको खडेरी अन्त्य गरेका छन्। योसँगै रियल मड्रिडले आइतबार राति रियल बेटिसलाई २–० ले पराजित गरेको छ।
रियलका लागि वर्षौंयताकै सबैभन्दा ठूलो सम्झौता गरेका एमबाप्पेले गत महिना युइएफए सुपर कपको फाइनलमा एटलान्टाविरुद्ध एक गोल गरेका थिए।
एमबाप्पेले भने, ‘म सान्टियागो बर्नाबेउमा गोल गर्न उत्सुक थिएँ, जुन विश्वकै उत्कृष्ट स्टेडियम हो। तर सबैभन्दा महत्त्वपूर्ण कुरा विजय थियो।’
६७औं मिनेटमा फेडेरिको भाल्भर्डेको पासमा गोल गर्दै उनले टोलीलाई अग्रता दिलाएका थिए। ७५औं मिनेटमा भिनिसियस जुनियरलाई विपक्षी खेलाडीले फाउल गरेपछि रियलले पेनाल्टी पायो। उक्त पेनाल्टीमा एमबाप्पेले गोल गर्दै २–० को जित दिलाए।
रियलले सुरुका तीन खेलमध्ये दुईमा बराबरी खेलेको थियो भने दुई राउन्डअघि बर्नाबेउमा भालाडोलिडविरुद्ध जित निकालेको थियो। यो जितसँगै डिफेन्डिङ च्याम्पियन रियलले आठ अंक जोडेको छ। जुन बार्सिलोनाभन्दा चार अंक कम हो। बार्सिलोना सिजनको सुरुआतका लागि चारै खेल जित्ने एक मात्र टोली हो।
‘लास पाल्मासविरुद्धको खेलपछि जित्नैपर्ने दबाब थियो,’ एमबाप्पेले भने,‘यो कठिन खेल थियो, तर जित्यौं।’ रियलले बर्नाबेउमा खेलेका पछिल्ला पाँच लिगमा हार बेहोरेको छैन, जुन सन् १९९६ पछि पहिलोपल्ट हो।
लिगमा २६ घरेलु खेलमा अपराजित रहेको रियलले २२ मा जित र चारमा बराबरी खेलेको छ। सुरुका तीन खेलबाट पाँच अंक जोडेको रियलले सन् २०१९–२० यता लिगमा सबैभन्दा खराब सुरुआत गरेको थियो।
यो नतिजाले बेटिसलाई भने तीन खेलपछि जितविहीन बनाएको छ। म्यानुएल पेलेग्रिनीको टोली सुरुका दुई खेलमा बराबरीमा रोकिएको थियो।