काठमाडौं। नेपाल ट्वान्टी-२० को फ्रेन्चाइज पोखरा एभेन्जर्सले बिनाप्रतिस्पर्धा नेपाल प्रिमियर लिगमा पोखरा टिम दिन माग गरेको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई रणनीतिक साझेदार नियुक्त गरेर दुई वर्षअघि नेपाल ट्वान्टी-२० लिग सुरुआत गरेको थियो।
तर, म्याच फिक्सिङलगायतका कुरा बाहिर आएपछि सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएको थियो। प्रतियोगिताकै बीचमा सेभेन थ्री स्पोर्ट्स सम्पर्कविहीन भएपछि क्यानले नै उक्त संस्करण पूरा गरेको थियो। त्यो लिगलाई बन्द गरेर क्यानले नेपाल प्रिमियर लिग सुरु गर्न लागेको हो।
‘नेपाल ट्वान्टी-२० को आयोजक क्यानको २७ मे, २०२२ को इन्भेस्टमेन्ट टू टेन्डर अफ नेपाल नेपाल ट्वान्टी-२० टिम (आइटिटी) अनुरुप ८ वर्षका लागि टिम खरिद गरेका हौं। त्यसैले नेपाल प्रिमियर लिगको तोकिएको फ्रेन्चाइज फी तिर्नेलगायतका सम्पूर्ण सेवा सर्त मान्ने गरी बिनाप्रतिस्पर्धा पोखरा टिम दिन माग गर्न चाहन्छौं,’ एभेन्जर्सले भनेको छ।
पहिलो संस्करणको लिगमा सहभागी हुँदासम्म करोडौ रुपैयाँ लगानी भइसकेको हुँदा सो लगानी सुरक्षित हुने वातावरण निर्माण गरिदिनसमेत एभेन्जर्सले माग गरेको छ।