काठमाडौं। वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले फ्रेन्चाइजी ट्वान्टी–२० क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन्।
क्यारेबियन प्रिमियर लिग (सिपिएल) २०२४ को सिजन आफ्नो अन्तिम व्यावसायिक प्रतियोगिता हुने ४० वर्षीय ब्राभोले इन्स्टाग्राममा लेखेका छन्। ब्राभोले सन् २०२३ को इन्डियन प्रिमियर लिग (आइपिएल) पनि छाडेका थिए।
सन् २०२१ मा संयुक्त अरब इमिरेट्स (युएई) मा भएको ट्वान्टी–२० विश्वकपपछि उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए । ब्राभोले सिपिएल २०२४ मा ट्रिनबागो नाइट राइडर्सको प्रतिनिधित्व गर्नेछन्।
उनले आइतबार सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्ध खेल्नेछ। उनी ट्वान्टी–२० मा सर्वाधिक विकेट लिने बलर हुन्। उनले ५७८ खेलमा ६३० विकेट लिएका छन् । यस्तै, ६ हजार ९ सय ७० रन पनि बनाएका छन्।
ब्राभोले यस फर्म्याटमा सात वटा विश्वकप खेलेका छन्। जसमा दुई पटक उपाधि पनि जितेका छन् । यसका साथै १५ भन्दा बढी फ्रेन्चाइज लिग उपाधि पनि उनको नाममा छ। उनी ट्वान्टी–२० क्रिकेटमा ५ ०० विकेट लिने पहिलो बलर पनि हुन्। ब्राभोले वेस्ट इन्डिजका लागि अन्य फर्म्याटमा लामो करियर बनाउन सकेनन्। चोट र बोर्डसँगको असहमतिले उनी ४० टेस्ट र १६४ एकदिवसीय खेलमा सीमित भए।