काठमाडौं। लाइपजिगका लोइस ओपन्डाले दुई गोल गरेपछि जर्मन च्याम्पियन बायर लेभरकुजेनले १५ महिनापछि पहिलोपल्ट बुन्डेसलिगामा हार बेहोरेको छ।
प्रशिक्षक जाबी अलोन्सोको नेतृत्वमा रहेको लेभरकुजेनले लेट गोललाई आफ्नो विशेषता बनाएको छ। तर, यसपल्ट भने त्यो विशेषता लेभरकुजेनको खेलमा देखिए। र, लेभरकुजेन मे २०२३ पछि पहिलोपल्ट जर्मन प्रतिद्वन्द्वीसँग २–३ ले पराजित भयो।
लाइपजिगले २–० ले पछि परेको अवस्थामा पुनरागमन गर्दै जित सुनिश्चित गरेको थियो। उसले १० सटबाट तीन गोल गरेको थियो। लेभरकुजेनले भने २७ सट प्रहार गरेपनि जित निकाल्न सकेन।
पहिलो हाफको ६ मिनेटको अन्तरालमा लेभरकुजेनले दुई गोल गरेको थियो। खेलको ३९औं मिनेटमा जेरेमी फ्रिम्पोङले गोल गर्दै लेभरकुजेनलाई अग्रता दिलाए। त्यसको ६ मिनेटपछि नै एलेक्स ग्रिमाल्डोले गोल गरेपनि लेभरकुजेनले २–० को अग्रता बनाएको थियो। तर, केभिन कम्पलले पहिलो हाफको अतिरिक्त समयमा हेडर गर्दै खेल २–१ मा ल्याए। त्यसपछि ओपन्डा चम्किए। उनले ५७ र ८०औं मिनेटमा दुई गोल गर्दै लेभरकुजेनलाई २–३ को नमिठो हार चखाए।
अलोन्सोले भने,‘ब्रेकअघि लेइपजिगले गरेको गोल (कम्पलबाट) खेल परिवर्तन भएको थियो। हामी दोस्रो हाफमा राम्रो खेल्न र अगाडि बढ्न तयार थियौं। तर, हामीसँग धेरै नियन्त्रण थिएन, खेल धेरै खुला थियो। त्यसैले दुई गोल सहजै खायौं।’