काठमाडौं। चेल्सीले म्यानचेस्टर युनाइटेडबाट जाडोन सान्चोलाई अनुबन्ध गरेको छ।
सान्चोलाई अर्को वर्ष किन्ने योजनासहित एक वर्षको ऋणमा चेल्सीले भित्र्याएको हो। ‘म यहाँ आउन पाउँदा निकै उत्साहित छु। म हुर्केको ठाउँ लन्डन नै हो,’ सान्चोले चेल्सीको वेबसाइटमा भने।
चेल्सीले आगामी समरमा युनाइटेडलाई २ करोड ५० लाख पाउन्ड (करिब ३ करोड ३० लाख अमेरिकी डलर) तिर्नुपर्ने छ।
सान्चो सन् २०२१ मा बोरुसिया डर्टमन्डबाट युनाइटेडमा आएका थिए। तर, मुख्य प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो हुन नसक्दा उनी गत सिजनको दोस्रो हाफमा जर्मन क्लब बोरुसिया डर्टमन्डमा लोनमा गएका थिएका थिए। बोरुसिया डर्टमन्डबाट उनले च्याम्पियन्स लिगको फाइनल पनि खेलेका थिए।
उनी समरमा युनाइटेडमा फर्केका थिए। चेल्सीमा उनले आफ्नो क्यारियरलाई पुन: प्रज्वलित गर्ने मौका पाउनेछन्। यद्यपि, कोल पामर, नोनी माडुके, जोआओ फेलिक्स, पेड्रो नेटो, क्रिस्टोफर एकुन्कु, माइखाइलो मुड्रिच र निकोलस ज्याक्सनसँग उनले प्लेइङ सेटमा स्थान बनाउन प्रतिस्पर्धा गर्नुपर्नेछ।
फेलिक्स र नेटोलाई पनि यस विन्डोमा चेल्सी भित्रिएका हुन्। समग्रमा सान्चो चेल्सीको ट्रान्सफर विन्डोमा भित्रिने १२औं खेलाडी हुन्।