काठमाडौं। पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोलाई नेसन्स लिगको पहिलो दुई खेलका लागि टोलीमा समावेश गरेका छन्।
मार्टिनेजले सेप्टेम्बर ५ मा क्रोएसिया र सेप्टेम्बर ८ मा स्कटल्यान्डविरुद्ध घरेलु मैदानमा हुने खेलका लागि शुक्रबार टोली घोषणा गरेका हुन्। ३९ वर्षीय रोनाल्डोको नाममा अन्तर्राष्ट्रिय पुरुष फुटबलका लागि १३० गोलको कीर्तिमान छ।
तर, युरो कप २०२४ मा पोर्चुगलका पाँचवटै खेल खेलेपनि उनले गोल गर्न सकेनन्। पोर्चुगल क्वार्टरफाइनलमा फ्रान्ससँग पेनाल्टी सुटआउटमा पराजित हुँदै युरो कपबाट बाहिरिएको थियो।
मार्टिनेजले युरो कपपछि आफ्नो टोलीले सन् २०२६ को विश्वकपका लागि नयाँ चक्र सुरु गर्न लागेको बताएका छन्। नर्थ अमेरिकामा सुरु हुने प्रतियोगितासम्म रोनाल्डो ४१ वर्षका हुनेछन्।