काठमाडौं। स्टार स्टाइकर केलियन एमबाप्पे ‘स्कोरलेस’ भएपछि डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले स्पेनिस लास पाल्माससँग १–१ गोलको बराबरी खेलेको छ।
रियलका लागि वर्षौंयताकै सबैभन्दा ठूलो सम्झौता गरेका एमबाप्पेले यो सिजन लिगमा गोल गर्न सकेका छैनन्। रियलका लागि उनले एक मात्र गोल यसै महिनाको सुरुमा एटलान्टाविरुद्ध युइएफए सुपर कपको जितमा गरेका थिए।
भिनिसियस जुनियरले गोल गरेपछि रियलले भालाडोलिडलाई ३–० ले हराएपनि मालोर्कासँग १–१ गोलको बराबरी खेलेको थियो।
रियलका प्रशिक्षक कार्लो एन्सेलोट्टीले भने, ‘गत सिजनजस्तो बलियो हुन हामीलाई गाह्रो भएको छ। यो अपेक्षाभन्दा कठिन भएको छ। यी पहिलो तीन म्याचहरूले मलाई धेरै चीजहरू देखाए, जुन राम्रोसँग काम गरिरहेका छैनन्। हामीले चाँडै समाधान खोज्न आवश्यक छ।’
खेलको पाँच मिनेटमै अल्बर्टो मोलेइरोले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए। तर, भिनिसियसले ६९औं मिनेटमा पेनाल्टी किकलाई गोलमा परिणत गर्दै यो सिजनको पहिलो लिग गोल गरेका थिए। त्यसपछि खेलमा गोल हुन सकेन।