काठमाडौं। जर्मनीका प्रशिक्षक जुलियन नागेल्सम्यानले टोनी क्रुस, थोमस मुलर, म्यानुअल नुएर र इल्का गुन्डोआनको सन्न्यासपछि स्टुटगार्टका एन्जेलो स्टिलरलाई आफ्नो पहिलो टोलीमा समावेश गरेका छन्।
गत सिजन बुन्डेसलिगामा स्टुटगार्टलाई अहिलेसम्मकै उत्कृष्ट अंक दिलाउन सफल २३ वर्षीय मिडफिल्डर स्टिलर हंगेरी र नेदरल्यान्ड्सविरुद्धको नेसन्स लिग खेलका लागि टोलीमा एक मात्र नयाँ अनुहार हुन्।
क्रुस, मुलर, नुएर र टोलीका कप्तान गुन्डोआन सबैले युरो कप २०२४ पछि अन्तर्राष्ट्रिय फुटबल करिअरबाट सन्न्यास लिएका थिए।
बायर्न म्युनिखका मिडफिल्डर अलेक्जेन्डर पाभ्लोभिक र स्टुटगार्टका गोलकिपर अलेक्जेन्डर नुबेलको पुनरागमनसहित नागेल्सम्यानले बिहीबार २३ सदस्यीय टोलीको घोषणा गरेका हुन्। रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरले ब्रेक पाएका छन्।
जर्मनीले सेप्टेम्बर ७ मा डसेलडोर्फमा हंगेरीको सामना गर्नेछ भने त्यसको तीन दिनपछि एम्स्टर्डममा नेदरल्यान्ड्ससँग खेल्नेछ।