काठमाडौं। वेस्ट इन्डिजका तीव्र गतिका बलर श्यानन गेब्रियलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन्।
सन् २०१२ मा आफ्नो करियर सुरु गरेका गेब्रियलले वेस्ट इन्डिजको प्रतिनिधित्व गर्दै ५९ टेस्ट, २५ एकदिवसीय र दुई टी-२० मा खेलेका थिए। यस अवधिमा उनको नाममा २०२ अन्तर्राष्ट्रिय विकेट छन्।
गेब्रियलले बुधबार आफ्नो इन्स्टाग्राम ह्यान्डलमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको जानकारी दिएका हुन्। उनले भने, ‘मैले विगत १२ वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेटमा आफूलाई समर्पण गरेको छु। यस अवधिमा उच्च स्तरिय क्रिकेट खेल्नु मेरो लागि उत्कृष्ट अनुभव रह्यो। मेरो मनपर्ने खेलमा वेस्ट इन्डिजको प्रतिनिधित्व गर्न पाउँदा मलाई निकै खुशी लागेको छ।’
गेब्रियलले २०१९ मा पनि कठिन समयको सामना गर्नु परेको थियो जब उनलाई चार एकदिवसीय खेलमा प्रतिबन्ध लगाइएको थियो। उनले जो रुटविरुद्ध आपत्तिजनक टिप्पणी गरेका थिए।
तर, उनले त्यसलाई स्वीकार गरे र आफ्नो आचरणको लागि माफी पनि मागे। उनले यो घटना क्रोधका कारण भएको बताएका थिए। गेब्रियलले अन्तिम पटक जुलाई २०२३ मा वेस्ट इन्डिजको प्रतिनिधित्व गरेका थिए।