काठमाडौं। रोमेलु लुकाकु र एन्टोनियो कोन्टेको जोडीले इटालीयन फुटबलमा रोमाञ्चकता बढाएका छन्। अब यो जोडी नापोलीमा पनि देखिने भएको छ।
इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका फरवार्ड लुकाकु बुधबार नापोलीमा स्थानान्तरणको अन्तिम रूप दिन इटालियन सहर पुगेका थिए। आफ्नो मेडिकल पूरा गर्न क्लबको क्लिनिकमा पुगेका उनलाई १०० भन्दा समर्थकले स्वागत गरेका थिए।
इटालियन सञ्चारमाध्यमका अनुसार लुकाकुले नापोलीसँग तीन वर्षका लागि सम्झौता गरेका छन्। जसमा सिरी 'ए' क्लबले चेल्सीलाई ३० मिलियन युरो (३३ मिलियन अमेरिकी डलर) र भविष्यमा हुने स्थानान्तरण शुल्कको ३० प्रतिशत रकम तिर्नेछ।
लुकाकुले कोन्टेको नेतृत्वमा इन्टर मिलानमा दुई फलदायी सिजन बिताएका थिए। ३१ वर्षीय लुकाकुलाई सन् २०२१ मा १३ करोड ५० लाख अमेरिकी डलर खर्चेर चेल्सीले स्टामफोर्ड ब्रिजमा भित्र्याएको थियो। तर, उनी फ्लप भए। उनले सन् २०२२–२३ को सिजन इन्टर मिलान र पछिल्लो सिजन रोमामा लोनमा बिताए।
चेल्सीले लुकाकुलाई इन्टरबाट किनेको थियो। २४ गोल गर्दै उनले इन्टरलाई सिरी 'ए' को उपाधि दिलाए। त्यसबेला कोन्टे इन्टरको मुख्य प्रशिक्षक थिए। उनले लुकाकुसँगै क्लब छाडेका हुन्।
कोन्टे दुई महिनाअघि इटाली फर्केका थिए र उनलाई गत वर्ष नापोलीमा भएको पराजयलाई उल्टाउने जिम्मा दिइएको थियो। नापोलीले कोन्टेसँग आफ्नो पहिलो लिग खेल ३–० ले गुमाएको थियो। तर, गत साता सोही स्कोरलाइनमा जित हासिल गरेको थियो।
डिएगो म्याराडोना क्लबका लागि खेलेपछि २०२२/२०२३ मा नापोलीले पहिलो पटक सिरी 'ए' को उपाधि जितेको थियो। गत सिजन १०औं स्थानमा रहेर नापोली लिग अन्त्य गरेको थियो।