काठमाडौं। इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले इटालियन विंगर फेडेरिको चिइसालाई अनुबन्ध गर्ने भएको छ। उनलाई युभेन्ट्सबाट लिभरपुलले अनुबन्ध गर्न लागेको हो।
लिभरपुलले युभेन्ट्ससँग चिइसालाई एक करोड पाउन्ड (एक करोड ३२ लाख अमेरिकी डलर) मा अनुबन्ध गर्ने सम्झौता गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। युभेन्ट्स र उनीबीचको सम्झौतामा एक वर्ष बाँकी छ ।
‘म वास्तवमै खुसी छु र यो नयाँ साहसिक कार्यको लागि तयार छु,’ उनले भने, ‘वर्षौंदेखिको मायाका लागि युभेन्ट्सका समर्थकहरूलाई धन्यवाद।’
इटालीका पूर्वस्ट्राइकर एनरिको चिइसाका छोरा चिइसा नयाँ प्रशिक्षक अर्ने स्लटको आगमनपछि लिभरपुलले अनुबन्ध गरेको पहिलो आउटफिल्ड खेलाडी हुनेछन्। लिभरपुलले मंगलबार भ्यालेन्सियाबाट जर्जियाका गोलकिपर जियोर्जी मामार्दश्विलीलाई अनुबन्ध गरेको छ।
अक्टोबर २०२० मा फियोरेन्टिनाबाट उनी ५० मिलियन युरो (तत्कालीन ६० मिलियन अमेरिकी डलर) मा युभेन्ट्समा अनुबन्ध भएका थिए।