काठमाडौं। अर्जेन्टिनाका कप्तान लिओनल मेसी कोपा अमेरिकाको फाइनल सकिएको ६ सातापछि इन्टर मियामीको समूह प्रशिक्षणमा फर्किएका छन्।
आठ पटकका बालोन डी'ओर विजेता मेसी बुधबार प्रशिक्षणमा फर्किएका हुन्। तर, मियामीका लागि उनले कहिले खेल्नेछन् भन्ने अझै स्पष्ट छैन। मियामीले शनिबार शिकागो भ्रमण गर्दैछ। उनलाई अर्जेन्टिनाले सेप्टेम्बरको सुरुमा हुने विश्वकप छनोट खेल्न टोलीमा राखेको छैन।
उनले यो सिजन मियामीका लागि १२ एमएलएस खेलमा १२ गोल र १३ असिस्ट गरेका छन्। उनले अन्तिम पटक जुलाई १४ मा कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्ध खेलेका थिए। उनले त्यस प्रतियोगिताभर खुट्टाको समस्या सामना गरिरहेका थिए। फाइनलमा पनि उनी पूरा समय खेल्न सकेनन्।