काठमाडौं। दक्षिण अमेरिकी फुटबल संस्था कोन्मेबोलले जुलाईमा कोलम्बियाविरुद्धको कोपा अमेरिकाको सेमिफाइनलमा दर्शक कुट्न गएका उरुग्वेका खेलाडीलाई प्रतिबन्ध लगाएको छ।
लिभरपुलका स्ट्राइकर डार्विन नुनेज उरुग्वेका पाँच खेलमा मैदान बाहिर रहनेछन्। यस्तै, टोटेनह्यामका मिडफिल्डर रोड्रिगो बेन्टान्कुरलाई चार खेलको प्रतिबन्ध लगाइएको छ। म्याथियास ओलिभेरा, रोनाल्ड अराउजो र जोस मारिया गिमेनेजले समान तीन–तीन खेल गुमाउनेछन्।
उरुग्वेले विश्वकप छनोटको अर्को खेल सेप्टेम्बर ६ मा पाराग्वेसँग खेल्नेछ भने त्यसको चार दिनपछि भेनेजुएलामा खेल्नेछ। नुनेजले अक्टोबरमा पेरु र इक्वेडरसँग तथा नोभेम्बरमा कोलम्बियाविरुद्धको घरेलु खेल गुमाउनेछन्।
चार्लोटस्थित बैंक अफ अमेरिका स्टेडियममा कोलम्बियासँग १–० ले पराजित भएपछि उरुग्वेका खेलाडीले दर्शक कुट्न गएका थिए। त्यस्तै, नुनेजलाई २०, बेन्टानकुरलाई १६ र ओलिभारा, अराउजो र गिमेनेजलाई १२–१२ हजार डलर जरिवाना तोकिएको छ।
उरुग्वेका अन्य सात खेलाडीलाई पनि जनही पाँच हजार अमेरिकी डलर जरिवाना तोकिएको छ।