इलाम। इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा हुने भएको छ। जिल्ला लिग च्याम्पियन रेडहर्स फुटबलको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो।
प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टिमको नामसमेत आयोजकले बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबसँगै गत संस्करणको विजेता न्यूरोड टिम एनआरटी, मच्छिन्द्र, थ्री स्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब रहेका छन्।
प्रतियोगिताको सम्भावित टिमको रूपमा नाम सार्वजनिक गरिए पनि यसमा केही परिवर्तन हुन सक्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वकेन्द्रीय सदस्य निरोज खड्गी बताए। उनका अनुसार ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज एफसीले समेत इलामको मैदानमा सहभागिता जनाउने इच्छा देखाएको छ।
आयोजक समितिका साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको बताए। ‘हामीले अब मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गत वर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं।’
दोस्रो संस्करणको प्रतियोगितामा पुरस्कार राशिमा समेत दोब्बर वृद्धि गरिएको छ। यसपल्ट विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन्। गत संस्करणको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गरेका थिए।
प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए। ‘प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेटमनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ,’ खड्गीले भने,‘विभिन्न सरकारी र गैरसरकारी निकायबाट प्रतियोगिताको आय संकलन गरिनेछ।’
प्रतियोगिताको म्यान अफ द म्याचलाई सात हजार पाँच सय प्राप्त गर्नेछन्। उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पाउनेछन्। गत संस्करणमा माघ ६ गतेबाट १३ गतेसम्म सञ्चालन भएको थियो।
मोफसलका अन्य प्रतियोगिताहरूसँग मिति नजुधोस् भन्ने उद्देश्यले दोस्रो संस्करण डेढ महिना अघि नै सञ्चालन गरिएको खड्गीले बताए। ‘एन्फासँग मात्र नभएर मोफसलका प्रतियोगिता आयोजक धरान, इटहरी, धुलाबारीलगायतका क्षेत्रका आयोजकहरूसँग समेत परामर्श गरेर मिति तय गरिएको हो,’ उनले भने, ‘प्रतियोगिताको मिति जुध्दा आयोजक र खेलाडीहरूलाई समेत समस्या पर्ने भएकाले सहजता अपनाइएको छ।’
इलामको ठुलो टुँडिखेलमा आयोजना हुने प्रतियोगिता पूर्वी पहाडको सबैभन्दा बढी पुरस्कार राशि र दर्शक बटुल्ने प्रतियोगिता हो। खेलकुदको माध्यमबाट इलामको पर्यटन प्रवर्द्धनमा समेत गोल्डकपले टेवा पुग्ने आयोजकले अपेक्षा राखेको छ।