काठमाडौं। बंगलादेशले पहिलोपल्ट उमेरसमूहको साफ च्याम्पियनसिपको उपाधि जितेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको साफ यु-२० को फाइनलमा घरेलु टोली नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।
उमेरसमूहको प्रतियोगितामा बंगलादेशले जितेको यो पहिलो उपाधि हो। सन् २०१५ र २०१७ मा उपाधि जितेको नेपाल भने तेस्रोपटक उपाधि जित्न चुकेको छ। बंगलादेशको जितमा मिराजुल इस्लामले दुई तथा रब्बी हुसेन र अहमेद नोभनाले समान एक गोल गरे। नेपालका लागि समीर तामाङले एक गोल फर्काए।
९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियोे। करिब २५ यार्डबाट नीराजन धामीले माथिल्लो बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गर्दै बचाए।
नीराजनले सिर्जना गरेको अर्को अवसर नेपालले २१ औं मिनेटमा गुमायो। दुई बंगलादेशी डिफेन्डर एकआपसमा जुध्न पुग्दा नीराजनले कट पास दिएका थिए। तर, अनमार्कमा रहेका अविनाश स्याङ्तानको प्रहारले पोस्टको दिशा लिन सकेन।
२५औं मिनेटमै नेपालले पहिलो परिवर्तन गरेको थियो। लछु थापाको स्थानमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले विंगर अनिल बम्जनलाई मैदान छिराए।
पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लियो। नेपाली डिफेन्डर राम थापाले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएका थिए। प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो।
मिराजुलले नै ५५औं मिनेट बंगलादेशले अग्रता दोब्बर बनाए। इस्लाम सकिबले दिएको हुक बललाई राजीब हुसेनले हेडिङ गरेका थिए। तर, गोलकिपर जियारथ शेख बिट हुँदा गोल लाइननजिक रहेका मिराजुलले हेडिङमार्फत बललाई जाली चुमाए। जारी प्रतियोगिता उनको यो चौथो गोल हो।
७१औं मिनेटमा रब्बी हुसेनले बंगलादेशका लागि तेस्रो गोल गरे। मिराजुलले बक्सबाट दिएको बललाई लामो रेन्जमा उनले जाली चुमाए। त्यसको १० मिनेटमा समीरले गोल गर्दै खेल ३-१ ल्याए।
राम थापाको बललाई बंगलादेशी डिफेन्डरले हेडर गर्दै बचाउने प्रयास गरेका थिए। तर, राम्रोसँग उक्त बल क्लियर हुन नसक्दा समीरले बललाई जाली चुमाए। प्रतियोगितामा समीरको यो दोस्रो गोल हो। यसअघि समूहचरणमा बंगलादेशविरूद्व नै उनले गोल गरेका थिए।
इन्जुरी समयको छैटौं मिनेटमा नोभाले गोल गर्दै बंगलादेशको फराकिलो जित पक्का गरे। रब्बीले दिएको कट बललाई किक प्रहार गर्दै जियारथले रोक्ने प्रयास गरेका थिए। तर, बिट हुँदा उनले वान टचमा गोल गरे।