काठमाडौं। बंगलादेशले साफ यु–२० च्याम्पियनसिपको फाइनलमा घरेलु टोली नेपालविरूद्व सुरूआती अग्रता लिएको छ
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यतिर १–० को अग्रता लिएको हो।
९औं मिनेटमै नेपालले सुवर्ण अवसर प्राप्त गरेको थियोे। करिब २५ यार्डबाट नीराजन धामीले माथिल्लो बार च्याप्दै प्रहार गरेको बल मोहम्मद आसिफले मुस्किलले पञ्च गर्दै बचाए।
नीराजनले सिर्जना गरेको अर्को अवसर नेपालले २१ औं मिनेटमा गुमायो। दुई बंगलनदेशी डिफेन्डर एकआपसमा जुध्न पुग्दा नीराजनले कट पास दिएका थिए। तर, अनमार्कमा रहेका अविनाश स्याङ्तानको प्रहारले पोस्टको दिशा लिन सकेन। २५औं मिनेटमै नेपालले पहिलो परिवर्तन गरेको थियो। लछु थापाको स्थानमा मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले विंगर अनिल बम्जनलाई मैदान छिराए।
पहिलो हाफको अन्त्यतिर बंगलादेशले अग्रता लियो। नेपाली डिफेन्डर नीरज कार्कीले खराब ट्याकल गर्दै मिराजुल इस्लामलाई पेनाल्टी बक्सबाहिर लडाएका थिए। प्राप्त फ्रिककमा मिराजुल पहिलो हार च्याप्दै प्रहार गरेको बल बारमा लागेर गोलमा परिणत भयो।