काठमाडौं। उरुग्वेका डिफेन्डर जुआन इजक्विएर्डोको निधन भएको छ। कोपा लिबर्टाडोरेस फुटबलअन्तर्गत गत बिहीबार साओ पाउलोको मोरुम्बी रंगशालामा भएको खेलका क्रममा लडेर २७ वर्षीय इजक्विएर्डो बेहोस भएका थिए।
त्यसपछि उनलाई तत्कालै साओ पाउलोस्थित अल्बर्ट आइन्स्टाइन अस्पताल लगिएको थियो। त्यसको पाँच दिनपछि मंगलबार उनको निधन भएको हो।
‘कार्डियाक एरिथिमियासँग सम्बन्धित कार्डियोरेस्पिरेटरी अरेस्टका कारण स्थानीय समयअनुसार राति ९:३८ बजे उनको मृत्यु भएको छ,’ अस्पतालले भनेको छ।
उरुग्वेको क्लबले विज्ञप्ति जारी गर्दै इजक्विएर्डोको मृत्युले नासियोनल शोकमा डुबेको बताएको छ। अस्पतालका चिकित्सकहरूले सोमबार विज्ञप्ति जारी गर्दै इजक्विएर्डोलाई इन्ट्राक्रानियल प्रेसर बढेकाले न्यूरोलोजिकल क्रिटिकल केयरमा राखिएको बताएका थिए। उनी आइतबारदेखि भेन्टिलेटरमा थिए।
इजक्विएर्डोको स्वास्थ्य लागको कामना गर्दै उरुग्वेको पहिलो र दोस्रो डिभिजन फुटबल लिग गत साता स्थगित गरिएको थियो। साओ पाउलोका खेलाडीले आइतबार भिटोरियाविरुद्ध २–१ को जित निकाल्नुअघि उनको जर्सी लगाएर स्वास्थ्य लाभको कामना गरेका थिए।
इजक्विएर्डोको सन् २०१८ मा स्थानीय क्लब सेरोबाट व्यावसायिक क्यारियर सुरु गरेका थिए। उनी अर्को वर्ष पेनारोलमा अनुबन्ध भएका थिए। तर, धेरै खेल्ने समय पाएनन्। पेनारोल छोडेपछि उनी मोन्टेभिडियो वान्डरर्स बसाइ सरेका थिए।
इजक्विएर्डोलाई दुई वर्षअघि नासियोनलले भित्र्याएको थियो। उक्त क्लबबाट उनले एक खेल खेले। त्यसपछि उनी स्थानीय क्लब लिभरपुल क्लब पुगेका थिए। सन् २०२३ मा उरुग्वेलाई लिगको उपाधि एक दशकपछि लिभरपुललाई दिलाउन उनले महत्त्वपूर्ण भूमिका खेले।
इजक्विएर्डो यस वर्ष नासियोनलमा फर्केका थिए। उरुग्वेको राष्ट्रिय टोलीका लागि खेलेका अनुभवी सेबेस्टियन कोट्ससँग प्रारम्भिक लाइनअपमा एक स्थानको लागि उनी प्रतिस्पर्धा गरिरहेका थिए। उनले यो वर्ष २३ खेल खेल्दै एक गोल गरेका थिए।
करिब दुई दशकअघि साओ काएटानोका डिफेन्डर सर्गिन्होको साओ पाउलोविरुद्ध ब्राजिलको लिग खेलका क्रममा मोरुम्बी स्टेडियममा लडेर मृत्यु भएको थियो।